कांग्रेस पदाधिकारी बैठक देउवा निवास धुम्बाराहीमा जारी
बैठकमा नीति अधिवेशनको मिति तोक्ने, भ्रातृ संस्थाको कार्यसमितिलाई पूर्णता दिने, विभाग गठन गर्नेलगायत विषयमा पनि छलफल हुने बताइएको छ।
काठमाडौं, वैशाख १७ : मन्त्रिपरिषदमा पठाउने थप नामको टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ।
बैठकमा नीति अधिवेशनको मिति तोक्ने, भ्रातृ संस्थाको कार्यसमितिलाई पूर्णता दिने, विभाग गठन गर्नेलगायत विषयमा पनि छलफल हुने बताइएको छ।
वैशाख ३ मा आठौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि सरकारले पूर्णता पाउन सकेको छैन। कांग्रेसले वैशाख १० गतेको उपनिर्वाचनपछि थप मन्त्री पठाउने जनाएको थियो।
उपनिर्वाचन सकिएको ६ दिनपछि सरकारलाई पूर्णता दिने विषयमा कांग्रेस सक्रिय भएको छ। कांग्रेसले नौ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ।
कांग्रेसले पाँचजनालाई भने सरकारमा पठाइसकेको छ। पार्टीले पूर्णबहादुर खड्कालाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री बनाएको छ। उनलाई कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।
त्यस्तै अर्थमन्त्रीमा कांग्रेसबाट प्रकाशशरण महत छन्। उद्योगमन्त्रीमा रमेश रिजाल, सहरी विकासमन्त्रीमा सीता गुरूङ र परराष्ट्र मन्त्रीमा एनपी साउद कांग्रेसबाटै बनेका हुन्।





