Kathmandu Press

मिटरब्याजको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी जाँचबुझ आयोगको कार्यालयको उद्घाटन गर्दै श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने समेत बताए।
मिटरब्याजको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, वैशाख १७ :  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजकोे हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने स्पष्ट पारेका छन्।

आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी जाँचबुझ आयोगको कार्यालयको उद्घाटन गर्दै श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने समेत बताए। उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक पहुँचका आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने पनि बताए।

उनले मिटरब्याजीको पक्षमा रहेका जोसुकैलाई पनि सरकारले कारबाही गर्ने चेतावनी दिए। विभिन्न आन्दोलनबाट राजनीति परिवर्तनबाट जनताले समृद्धिको अपेक्षा गरेको भन्दै श्रेष्ठले मुलुकलाई समृद्ध र विकसित गरेर अघि बढ्ने लक्ष्यका साथ सरार अघि बढिरहेको जिकिर गरे।

उनले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउन अर्थतन्त्रमा तत्काल देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने धारणा राखे। अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले जनकपुरधाममा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको हो।

सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए। 

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्