Kathmandu Press

नीरा हत्या प्रकरण : आरोपितलाई काठमाडौं ल्याइयाे, आजै सार्वजनिक गरिने

काठमाडौंको सरस्वतीनगरमा वैशाख ७ गते आफ्नै भाँडाकुँडा पसल ‘निरु किचन’मा नीराको हत्या भएको थियो।
नीरा हत्या प्रकरण :  आरोपितलाई काठमाडौं ल्याइयाे, आजै सार्वजनिक गरिने

काठमाडौं, वैशाख १७ : काठमाडौंको सरस्वतीनगरमा १० दिनअघि नीरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडौं ल्याइएको छ।

झापाबाट पक्राउ परेका काठमाडौं ल्याइएका विकलाई घटनामा संलग्न भएको प्रमाणसहित केन्द्रीय अनुसन्धान ब्युरोले आज (आइतबार) साढे २ बजे पत्रकार सम्मेलन गरेर  सार्वजनिक गर्ने तयारी गरेको छ। उनलाई प्रहरी प्रधान कार्यालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको टोलीले काठमाडौं ल्याएको हो।

काठमाडौंको सरस्वतीनगरमा वैशाख ७ गते आफ्नै भाँडाकुँडा पसल ‘निरु किचन’मा नीराको हत्या भएको थियो। हुलिया चिन्न गाह्रो पर्नेगरी अनुहारमा मास्क लगाएका आरोपी विकले ८ मिनेटको अन्तरालमा हत्यादेखि लुटपाट गरेको खुल्न आएको बताइएको छ। सिसिटिभी क्यामेरा फुटेजमा राम्रोसँग चिन्न नसक्दा प्रहरीले धेरै मेहनत गर्नुपरेको थियो।

आरोपित विकले गरगहना र पैसा लुट्नकै लागि हत्या गरेको प्रारम्भिक बयानमा खुलाएको बताइएको छ। लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीले  निकालेको छ। हत्यापछि लुटिएको सुनको सिक्री बेचिएको पाइएको छ। प्रहरी स्रोतका अनुसार सिसिटीभी फुटेजमा देखिएको झोला नै बरामद भएको हो । विकले नीराको हत्या गर्नुको थप कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

पक्राउ परेका बिक यसअघि काठमाडौंमा एक रेस्टुरेन्टमा बाउन्सरका रुपमा कार्यरत व्यक्ति हुन्। पक्राउ परेका विक घटना गरिसकेपछि कागेश्वरी मनोहरास्थित रेस्टुरेन्टको कोठामा गएको र भोलिपल्ट झापा पुगेको प्रहरी स्रोतको भनाइ छ।

प्रकाशित मिति: १३:५१ बजे, आइतबार, वैशाख १७, २०८०