अलपत्र पारेको भन्दै युवकको घरमा प्रेमिकाले गरिन् आत्महत्या
आत्महत्याको विषयमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ। प्रहरीले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारमा शव फेला पारेको जनाएको छ।
काठमाडौं, वैशाख १७ : प्रेम सम्बन्ध रहेका युवकले विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले शनिबार काठमाडौं बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा पुगेर आत्महत्या गरेकी छन्।
विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीया नर्स अनुमा श्रेष्ठले आत्महत्या गरेकी हुन् । आत्महत्याको विषयमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ। प्रहरीले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारमा शव फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो युवतीले आत्महत्या गरिसकेको अवस्थामा ती युवकका परिवारले प्रहरीलाई खबर गरेको थियो। मृतकका परिवारको रोहवरमा शनिबार राति प्रहरी मुचुल्का तयार पारि शव जिम्मा दिइएको छ। मृतक श्रेष्ठका प्रेमी भनिएका ढकाल डाक्टर हुन्। श्रेष्ठले वीर अस्पतालमा र ढकालले कान्ति बाल अस्पतालमा काम गर्ने गरेको जानकारीमा आएको छ।
श्रेष्ठले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि प्रेमी ढकाल र उनको परिवारले नमानेपछि विवाद आत्महत्यासम्म पुगेको जनाइएको छ। प्रहरीले आत्महत्या गरेको स्थानबाट श्रेष्ठको डायरी बरामद गरेको छ। डायरीमा श्रेष्ठले निजी कुरा खुलाएर लेखेकी छन्।
सुसाइड नोटमा उनले ‘मायालाई मजाक बनाइएको’ भन्दै बिदा हुने कुरा लेखेको भेटिएको छ । लामो समय प्रेम सम्बन्धमा रही अलपत्र पारेको र प्रेमीका बुवाले समेत घरमा भित्राउन अस्वीकार गरेको भन्दै मृतकका परिवारले प्रहरीमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरेका छन्।





