Kathmandu Press

प्रधानन्यायाधीश नियुक्त अविलम्ब गर्न नेपाल बारको आग्रह

'देशभरिका अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसक्दा सेवाग्राहीले संविधानद्वारा प्रत्याभूत स्वच्छ न्याय पाउने हकबाट बञ्चित हुनुपरेको छ।'
प्रधानन्यायाधीश नियुक्त अविलम्ब गर्न नेपाल बारको आग्रह

काठमाडौं, वैशाख १७ : नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त अविलम्ब गर्न माग गरेको छ।

एशोसिएसनका महासचिव अन्जिता खनालले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सबै अदालतका न्यायाधीश नियुक्त गर्न माग गरेका हुन्।

'सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन हुन पुगी न्यायपालिकाप्रति जनआस्था खस्किँदो अवस्थामा छ', विज्ञप्तिमा भनिएको छ, 'देशभरिका अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसक्दा सेवाग्राहीले संविधानद्वारा प्रत्याभूत स्वच्छ न्याय पाउने हकबाट बञ्चित हुनुपरेको छ।'

अहिले सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन्। एशोसिसनले प्रधानन्यायाधीश नियुक्ति, न्यायपालिकाको विकृति, विसङ्गतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न समेत माग गर्दै भोलि वैशाख १७ गतेबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्न थालिएको महासचिव खनालले जानकारी दिए।

उनका अनुसार ती माग पूरा गर्नका लागि भोलिदेखि एक हप्तासम्म प्लेकार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइने छ।

प्रकाशित मिति: ०७:३६ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्