देशभर अझै तीन दिन पानी पर्ने
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ। अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।
काठमाडौं, वैशाख १६ : काठमाडौं उपत्यकामा आज अपराह्नपछि मध्यम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा ३१ मिलीमिटर वर्षा भएको जनाएको छ।
यस्तै, पोखरामा २३.२, ताप्लेजुङमा २२ र लुम्लेमा १९ मिलीमिटर वर्षा भएको छ महाशाखाले जनाएकोछ। ५० मिलीमिटर मध्यम र ५० मिलीमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।
देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। ‘देशका केही स्थानमा आज वर्षा भएको छ भने काठमाडौं उपत्यका, पोखरा ताप्लेजुङलगायत क्षेत्रमा धेरै वर्षा भएको छ,’ उनले भनिन्।
काठमाडौंमा भारी वर्षासँगै सिंहदरबार वरिपरि न्यूप्लाजा, पुतलीसडक, जमललगायत क्षेत्रको सडक जलमग्न भएका छन्। निरन्तरको वर्षाले सवारी आवागमनमा समेत केही व्यावधान भयो भने गन्तव्यमा पुग्ने सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ। अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।
‘पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको छ । रातिको समयमा दिउँसोको भन्दा सिस्टम कमजोर हुने भएकाले वर्षा कम हुन्छ भोलि र पर्सि पनि वर्षाको सम्भावना छ,’ उनले भनिन्।
प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन÷चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ। भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।











-1784808429.png)