सांस्कृतिक सद्भाव बढाउन सीता जन्मोत्सव
मिथिला संस्कृति समाज, नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘सीता जन्मोत्सव समारोह २०८०’ कार्यक्रममा उनले सीतालाई एक आदर्श नारीका रुपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रुपमा लिइनुपर्ने बताए।
काठमाडाैं, वैशाख १६ : कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्नका लागि राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
मिथिला संस्कृति समाज, नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘सीता जन्मोत्सव समारोह २०८०’ कार्यक्रममा उनले सीतालाई एक आदर्श नारीका रुपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रुपमा लिइनुपर्ने बताए।
'मुलुकको सामाजिक, सांस्कृतिक रुपमा एउटा नयाँ आयाम थप्ने काम सीता जन्मोत्सवले गरेको छ। यसबाट राष्ट्रिय एकता र भ्रातृत्व वातावरण बनाउँछ', उनले भने। सीता जन्मोत्सवले मिथिला संस्कृतिलाई पनि प्रवर्द्धन गरेको पनि उनले बताए।
सोही कार्यक्रममा मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले सीताको जन्मोत्सवलाई मिथिला क्षेत्रमा मात्र नभई समग्र नेपालभर नै मनाउन आवश्यक रहेको बताए।
'हामीले आफ्नो इतिहास र संस्कृतिलाई उजागर गर्न सकेनौँ। सामाजिक एकता र सद्भावका लागि सीता जयन्ती हिमाल पहाड सबै क्षेत्रले मनाउन थाल्नुपर्छ', उनले भने, 'यसलाई मधेस प्रदेश र जनकपुरको मात्र नभई राष्ट्रिय पर्वका रुपमा मनाइनुपर्छ। यसले जनकपुरको कान्तिपुरसँग सम्बन्ध जोड्न सक्छ।' राष्ट्रिय विभूति सीता महिला सशक्तीकरणको प्रतिबिम्ब रहेको पनि उनले उल्लेख गरे।
हरेक वर्ष वैशाख शुल्क नवमीका दिन राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवम् जयन्तीका रुपमा मनाइने गरिन्छ। मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक धर्मग्रन्थ एवम् पुराणहरुमा वर्णन गरिएको छ।











-1784808429.png)