Kathmandu Press

किर्ते मुद्दामा पूर्वसांसद गुलेफुन खातुन जेल चलान

मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाविसका सचिवको हस्ताक्षर र सरकरीछापा किर्ते गरेको आरोप उनलाई लागेको थियो।
किर्ते मुद्दामा पूर्वसांसद गुलेफुन खातुन जेल चलान

मोरङ, वैशाख १५ : सरकारी सहिछाप किर्ते गरेको अभियोगमा कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन कैद जेल चलान भएकी छिन्। जिल्ला अदालत मोरङमा शुक्रबार हाजिर भएकी उनलाई अदालतले मोरङ कारागार चलान गरेको हो ।

‘सरकारी सहीछाप र दस्तखत किर्त’ मुद्दामा जिल्ला अदालत मोरङले उनलाई एक वर्ष कैदको फैसला गरेको थियो। जिल्ला अदालतको फैसलालाई उच्च अदालतले सदर गरेपछि उनीलाई जेल चलाउन गरिएको हो।

मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाविसका सचिवको हस्ताक्षर र सरकरीछापा किर्ते गरेको आरोप उनलाई लागेको थियो।

सो मुद्दामा २०७४ वैशाख ३१ गते जिल्ला अदालत मोरङले सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई जिल्ला अदालतले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध उनी २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन्। तर, उच्च अदालतले श्रीमान शेख सिलबरलाई सफाई दिँँदै खातुन, कामत र मण्डल एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

सांसद खातुन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा निवेदन दिएकी थिइन्। तर, सर्वोच्चले मुद्दा सुनुवाइका लागि निस्सा नदिएपछि उनले अब ११ महिना ५ दिन कैद बस्नुपर्नेछ।

सर्वोच्चबाट निस्सा नपाएपछि खातुनले कारागारमै बसेर न्यायका लागि लड्ने बताएकी छिन्। आफैं बनाएको कानुनको इज्जत गर्ने भन्दै उनले कानुनभित्रै बसेर न्याय–अन्यायको फौसला गरिदिन आग्रह गरेकी छिन्।

अदालतबाट दोषी करार भएपछि उनी गत असारमा पदमुक्त भएकी थिइन्।

प्रकाशित मिति: १९:१७ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्