Kathmandu Press

फरार कोइरीलाई समितिमा राख्न सभामुखको प्रस्ताव

एमालेका सांसद कोइरीलाई सभामुख देवराज घिमिरेले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा समितिको सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेका हुन्।
फरार कोइरीलाई समितिमा राख्न सभामुखको प्रस्ताव

काठमाडौं, वैशाख १५ : कर्तव्य ज्यान मुद्दामा मुछिएका सांसद लक्ष्मी महतो कोइरी संसदको उद्योग तथा वाणिज्य समिति सदस्यमा प्रस्तावित भएका छन्।

एमालेका सांसद कोइरीलाई सभामुख देवराज घिमिरेले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा समितिको सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेका हुन्। सांसदको सपथ लिएपछि कोइरी फरार छन्। संसद वैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालगायतले कोइरीलाई निलम्बन नगर्नुको कारणबारे प्रश्न उठाएका छन्।

खतिवडाले कोइरी निरन्तर प्रतिनिधिसभाका १० वटा बैठकहरुमा अनुपस्थित हुँदा पनि संसदीय समितिमा समेत राखिएको भन्दै आपत्ति जनाए। प्रहरीले थुनामा राख्नुपर्ने व्यक्तिलाई सभामुखले सांसदबाट निलम्बन नगराएर जोगाएर राख्नुको कारण समेत खतिवडाले माग गरे। 

संसदमा खतिवडाले भने, ‘लक्ष्मी महतो कोइरीका बारेमा मैले पटक–पटक कुरा उठाएको छु। अहिले पनि नेपाल प्रहरीले चिठी लेखेर उच्च अदालत जनकपुरको आदेशअनुसार उहाँ थुनामा बस्नुपर्ने भनेको छ। तर संसद् सचिवालयले उहाँलाई निलम्बित गरेको छैन।’ खतिवडाले सभामुखको भूमिका सत्तापक्ष, प्रतिपक्षतर्फ लक्षित नभई सम्पूर्ण सदनको पक्षमा हुने विश्वास गरे पनि त्यस अनुसार भूमिका नभएको बताए। 

प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) मा ‘अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ,’ भन्ने व्यवस्था छ। 

मधेश आन्दोलनका बेला आन्दोलनकारीको निर्घात आक्रमणबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको आरोप सांसद कोइरी माथि लागेको छ। २०७२ भदौ २५ मा उक्त घटना भएको थियो। हत्या प्रकरणमा कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो।

जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कोइरी तारेखमा छुटेका थिए। सरकारी वकीलको निवेदनमा जनकपुर उच्च अदालतले जिल्लाको आदेश उल्ट्याएर थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दियो। २०७७ मंसिर १९ गते जिल्लाको आदेश उल्ट्याउँदै उक्त आदेश भएको थियो।

उच्च अदालतले थुनामा राख्न पक्राउ आदेश समेत जारी गरेको छ। फरार अबस्थामै उनी चुनाव लडेका थिए। उच्च अदालतले आदेश दिए यता कोइरी हाजिर भएका छैनन्। फरार रहेकै अवस्थामा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर शपथसमेत खाएका थिए। 

प्रकाशित मिति: १८:३२ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्