‘विकास बजेट कटौती नगरियोस्’
सांसद ठाकुर गैरेले संसद्को हिउँदे अधिवेशन आज अन्तिम भन्ने सुनिएको तर प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ कहिले दिने भनी प्रश्न गरे।
काठमाडाैं, वैशाख १५ : प्रतिनिधिसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा विकास बजेट कटौती नगर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले तत्कालीन नेकपा (माओवादी) का अयोग्य लडाकुलाई पैसा दिने निर्णय तत्काल फिर्ता लिन सरकारसंग माग गरे।
सांसद बद्री पाण्डेले बाजुरालाई केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको र सुदूरपश्चिम अझै भूकम्प आउने विशेषज्ञले बताइरहेका सन्दर्भमा यसको तयारीका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद ठाकुर गैरेले संसद्को हिउँदे अधिवेशन आज अन्तिम भन्ने सुनिएको तर प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ कहिले दिने भनी प्रश्न गरे। सांसद चन्दा कार्कीले राष्ट्रपति उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयअन्तर्गत राख्नुपर्ने, प्रसूति गृहमा हेलिप्याड राख्ने व्यवस्था गर्नुपर्ने माग गरिन्।
सांसद विश्वप्रकाश शर्माले झापामा हात्तीको आक्रमणबाट व्यक्तिको मृत्यु हुनेक्रम बढ्दो रहेको र वन्यजन्तु तथा बालीनाली विनाश गर्ने गरेको अवगत गराउँदै राहत प्रदान गर्न एवं समस्या समाधानका लागि आवश्यक पहल गर्न माग गरे।
सांसद रामहरि खतिवडाले अयोग्य लडाकुलाई जनही रु दुईदुई लाख रकम वितरण गर्न लागिएकोप्रति विरोध जनाउँदै आर्थिक मन्दी भएका बेलामा यो कार्य रोकिनुपर्ने बताए।
सांसद वासुदेव घिमिरेले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका जायज माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए। सांसद लालवीर चौधरीले किसानलाई समय मै मल र बीउको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
एमाले प्रमुख सचेतक गिरीले अनमिनको प्रमाणीकरणमा हुँदै नभएका लडाकूको नाममा माओवादी नेतृत्वले यसअघि नै ९५ करोड लगेको र त्यसको हिसाबकिताब समेत स्पष्ट नभएको आरोप लगाए।
त्यस्तै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा सत्ता पक्षका कार्यकर्ताले नै अवरोध गर्न खोजेको भन्दै छानविन गरि दोषिलाई कारबाही गर्नुपर्ने बताए।











-1784808429.png)