माइतीघरमा महावीर पुनको धर्ना
धर्नाअघि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको पनि उल्लेख गरे।
काठमाडाैं, वैशाख १५ : अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्।
सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारबाट अनिश्चितकालिन धर्ना सुरु गरेका हुन्।
महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूको लागि केही नगरेकाले दबाब स्वरूप आन्दोलन गर्नु परेको पुनको भनाइ छ। धर्नाअघि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको पनि उल्लेख गरे।
नयाँ विषयहरूको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सुधार हुन नसक्दा नेपाली युवाहरू विदेश जान बाध्य हुने पुनले बताए ।
अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान, आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्नेमा बताए । नेपालमा सरकारले यस विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाइएको उनको भनाइ छ।











-1784808429.png)