नेपाल युरोपियन फिल्म फेस्टिभल आजबाट
युरोपियन युनियनका उपराजदूत डा. जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताए।
धनगढी, वैशाख १५ : शुक्रबारदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुँदै छ । नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो।
फेस्टिभल नेपालस्थित द डेलिगेसन अफ युरोपियनले आयोजनामा हुन लागेको हो। युरोपियन युनियनका उपराजदूत डा. जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताए।
महोत्सवमा मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तर्क्रियात्मक छलफल हुनेछ । आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो।
सुदूरपश्चिम विश्वविद्यालय कानून संकायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए। उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए।
महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्वीडेन, लाटभिया, इराक), इग्नस जोनसको निर्देशन रहेको इनभिजिवल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनको निर्देशन रहेको डेटिङ अम्बर (आयरल्यान्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेको मित्र (नेदरल्यान्डस्) प्रदर्शन हुनेछन् ।
महोत्सवमा टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन गरिनेछन् ।












