कांग्रेसका डिल्ली चौधरी बने लुम्बिनीका मुख्यमन्त्री
कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलको समर्थन देखिएपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
रुपन्देही, वैशाख १४ : नेपाली कांग्रेसका नेता नेता डिल्ली चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन्।
कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलको समर्थन देखिएपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३र३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १र१ जनासहित ५३ जनाको समर्थन छ ।
लिला गिरी प्रदेश सभाबाट विश्वासको मत पाउन असफल भएपछि गत सोमबार एमाले नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि प्रदेश प्रमुख शेरचनले मंगलबार साँझ बहुमतको सरकार गठनका लागि आव्हान गरेका थिए।
चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित भएका थिए। यसअघि पनि निर्वाचित उनी अघिल्लो प्रदेश सभामा लामो समयसम्म सार्वजनिक लेखा समितिको सभापति भएर काम गरेका थिए।
झन्डै डेढ वर्ष प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री पनि भए । चौधरी संघीय सरकारको श्रम राज्यमन्त्री पनि भइसकेका छन्।
दाङको कमैयामुक्ति आन्दोलनका अगुवा रहेका चौधरी विभिन्न गैरसरकारी संघ संस्थाहरुमा पनि नेतृत्व गर्दै सामाजिक अभियन्ताको पहिचान बनाएका व्यक्ति हुन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री चौधरीले शपथ भने शुक्रबार लिनेछन् ।











-1784808429.png)