Kathmandu Press

नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन माग

सम्पर्क समितिसँगको छलफलका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उनले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए।
नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन माग

काठमाडाैं, वैशाख १४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीको केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन्। 

सम्पर्क समितिसँगको छलफलका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उनले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए।

प्रत्येक दुईदुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र सांगठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाइ छ। गत मङ्सिर ४ मा आम निर्वाचन भएर यही वैशाख १० मा उपनिर्वाचन भइसक्दासमेत केन्द्रीय समिति बैठक बस्न नसकेको उनले बताए।

'पार्टीलाई व्यवस्थित, समयसान्दर्भिक र परिस्कृत बनाउन पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ। अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ', नेता महरले भने।

उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्णरूपमा परिस्कृत हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै उनले नागरिकको भावनानुसार काम गर्न सकेमात्रै मुलुकमा स्थायित्वको राजनीति गर्न सकिने बताए। उपनिर्वाचनको नतिजा मूल धारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उनको भनाइ थियो।

'हामीमा राम्रा कामको जस लिने र गलत काम भए क्षमा माग्दै सच्चिँदै जनभावनाअनुसार अगाडि बढ्ने भावनाको विकास गर्ने परिपाटी बसाउँदै जानुपर्छ', नेता महरले भने, 'पछिल्लो राजनीतिक स्थितिले नीति र नेतृत्वमा बदलाब र गतिशीलता खोजेको सङ्केत दिएको छ। हामी यसका लागि तयार हुनुपर्छ।'

समाज परिवर्तनशील हुने भएकाले राजनीतिक दल पनि सोहीअनुरुप गतिशील हुन सक्नुपर्ने उनको तर्क थियो।

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्