नेपालमा गरेकाे 'बुकिङ' रद्द गराउँदै चिनियाँ पर्यटक
काठमाडौं, माघ १४ : चीनमा फैलिएको कोरोना भाइरसको असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ। चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल आउन लागेका चिनियाँ पर्यट....

काठमाडौं, माघ १४ : चीनमा फैलिएको कोरोना भाइरसको असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ। चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल आउन लागेका चिनियाँ पर्यटक धमाधन भ्रमण रद्द गर्न थालेका हुन्।
आईतबार मात्रै चीनको संस्कृति र पर्यटन मन्त्रालयले एक सूचना जारी गर्दै सबै ट्राभल कम्पनीहरुलाई तत्काल अस्थायी रुपमा अन्तर्राष्ट्रिय टूर प्याकेज रद्द गर्न निर्देशन दिएको छ। चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन यहि हो। यो सिजनामा कोरोना भाइरस देखिएपछि नेपाल आउने पर्यटकको संख्यामा पनि कमी हुने पर्यटन व्यवयासी बताउँछन्।
चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको थियो, तर भ्रमण वर्षको सुरुआत मै समस्या देखिएको व्यवसायीहरु बताउँछन्।
चिनियाँ पर्यटकलाई सेवा प्रदान गर्दै आएको ठमेलको द ग्रेट एड्भेन्चरका सञ्चालक चुडामणि बराकोटीले सुरक्षालाई ध्यान दिएर बुकिङ रद्द गरिएको बताए। ‘चिनियाँ सरकारले नै भाइरसका कारण देश बाहिर नजाने निर्देशन दिएपछि उनिहरुले बुकिङ रद्द गरेका हुन्,’ सञ्चालक बराकोटीले भने, ‘हामीले पनि उनिहरुको आग्रहलाई सहर्ष स्वीकार गर्दै रद्द गरेका हौं।’
ट्राभल एजेन्सीसँगै होटलहरुको पनि बुकिङ रद्द गरिन थालेको छ। ‘चिनियाँ नयाँ वर्षका लागि हामीले ८० जनाका लागि बुकिङ गरेका थियौँ,’ बराकोटीले भने, ‘थप ५० जनाको तयारी थियो, तर उनिहरुको समस्यालाई बुजेर रद्द गरायौं।’
बराकोटीका अनुसार चिनियाँ पर्यटकले १० दिनका लागि नेपाल आउने योजना बनाएर बुकिङ गरेका थिए। तर, समस्या भएपछि बुकिङ रद्द गराएका हुन्।
अन्य ट्राभल एजेन्सी र होटलहरुको अवस्था पनि उस्तै छ। थुप्रै चिनियाँ पर्यटकले बुकिङ रद्द गराएका छन्। नयाँ वर्षको अवसरमा मात्रै झन्डै १५ हजार चिनियाँ पर्यटक नेपाल आउने गरेका थिए। जनवरी २५ मा चिनियाँ नयाँ वर्ष सुरु हुनेगर्छ।
भ्रमण वर्षका लागि चुनौति
चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष २०२० मा पनि असर पर्ने देखिएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार, चिनियाँ पर्यटकको संख्याले असर गर्ने देखिएको छ। सोचेअनुसार, चिनियाँ पर्यटक नआउने निश्चित जस्तै छ ।
अध्यागमन कार्यालयको तथ्यांकअनुसार, सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ जना चिनियाँ पर्यटक नेपाल आएका थिए। सरकारले नेपाल भ्रमण वर्ष २०२० मा तीन लाख पचाँस हजार चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ। कोरोना भाइरसले कम्तिमा चार–पाँच महिनाको पर्यटक आगमन प्रभावित हुने देखिएको छ। जसले गर्दा सात–आठ महिनामा दोब्बर चिनियाँ पर्यटक भित्र्याउनु पर्ने चुनौति थपिएका छ।
अध्यागमनको तथ्यांकअनुसार, गत वर्ष एक सय ७२ देशवाट ११ लाख ९७ हजार एक सय ९१ जना पर्यटक नेपाल भित्रिएका थिए। जसमा हवाइमार्गबाट नौ लाख ९५ हजार आठ सय ८४ र स्थलमार्गबाट दुई लाख एक हजार तीन सय सात विदेशी पर्यटक नेपाल आएका थिए।
सन् २०१८ को तुलनामा सन् २०१९ मा दुई दशमलव शून्य पाँच प्रतिशतले पर्यटकको संख्यामा बृद्धि भएको हो।
बराकोटीका अनुसार चिनियाँ पर्यटकबाट ठूलो आस गरेको पर्यटन क्षेत्रले चिनियाँ भित्रिने समयमै रोग फैलिँदा पाहुनाको ठूलो हिस्सा गुमाएको छ।
अहिले भाइरलका कारण चिनियाँ पर्यटकले धमाधन बुकिङ रद्द गरे पनि वर्षभरिमा चिनियाँ पर्यटकको संख्यामा कमी नहुने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान) का अध्यक्ष खुम सुवेदीको अनुमान छ । ‘केही दिनका लागि आएको भाइरसका कारण तत्काल केही कमी हुनु स्वभाविक हो,’ अध्यक्ष सुवेदीले भने, चिनियाँहरु ट्राभल गर्न रुचाउँछन्, केही दिन भाइरसका कारण समस्या भएपनि नेपाल आउने पर्यटकको संख्यामा कमी हुदैन्।’












-(7)-1765197040.jpg)