लुम्बिनीमा नयाँ सरकार गठनका लागि गठबन्धन दल छलफलमा
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले बिहीबार अपराह्न ४ बजेसम्मका लागि दिएको समयावधिमै सरकारको दाबी पेस गर्नेगरी गठबन्धन दलबीच तयारी गरिएको प्रदेशसभामा कांग्रेस प्रमुख सचेतक जन्मदेव तिमल्सेना बताउँछन्।
दाङ, वैशाख १३ : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आह्वान गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दल सरकार गठनका लागि छलफलमा जुटेका छन्।
प्रदेश प्रमुख शेरचनले मगलबार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुखको आह्वानसँगै नयाँ सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धन दल आन्तरिक छलफलमा जुटेका हुन्।
एमाले संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीले सोमबार विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको थियो।
प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरीले सोही दिन प्रदेश प्रमुखलाई भेटेर संविधानको धारा १६८ उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने दाबी गरेका थिए। तर विपक्षी दलले एक महिनाअघि नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेस गरेका छन्।
एमालेले बुधबारमात्र बहुमतको सरकार गठनको आव्हान गर्ने प्रदेश प्रमुखको निर्णयमा आपत्ति जनाएको छ। एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले बुधबार विज्ञप्ति निकाल्दै प्रदेश प्रमुखको निर्णयविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।
‘संसदमा सबैभन्दा ठूलो दललाई सरकार गठनका लागि नेपालको संविधानको धारा १६८ ९३० ले नै प्रबन्ध गरेको परिप्रेक्ष्यमा धारा १६८ ९२० बमोजिम गठन भएको सरकारले विश्वासको मत नपाएको अवस्थामा फेरि सोही धारा प्रयोग गर्नु कानुनी रुपमा सही हुँदैन’, विज्ञप्तिमा भनिएको छ । प्रमुख सचेतक चौधरीले यो हस्तक्षेपकारी भूमिकाको घोर विरोध गर्दै कानुनी उपचारमा जाने बताएका छन्।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले बिहीबार अपराह्न ४ बजेसम्मका लागि दिएको समयावधिमै सरकारको दाबी पेस गर्नेगरी गठबन्धन दलबीच तयारी गरिएको प्रदेशसभामा कांग्रेस प्रमुख सचेतक जन्मदेव तिमल्सेना बताउँछन्।
गठबन्धन दलबीच सत्ताको भागबण्डाका विषयमा विभिन्न चरणमा छलफल भए पनि अहिलेसम्म टुङ्गो लागिनसकेको तर सरकारको दाबी पेस गरिसकेपछि छलफल गरेर टुङ्गोमा पुगिने संकेत प्रमुख सचेतक तिमल्सेनाले जानकारी दिए।
नयाँ सरकारमा प्रमुख सत्तासाझेदार माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सरकार गठका लागि बिहीबार दाबी प्रस्तुत गरिने गठबन्धनमा रहेका सबै दलबीच सहमति भएको बताए। उनले सत्ता भागबण्डाका बारेमा अहिलेसम्म राजनीतिक सहमति भएका र बाँकी नयाँ सरकार गठन पछि टुङ्ग्याइनेसमेत जानकारी दिए।
नयाँ सरकार गठनका लागि कांग्रेसको नेतृत्वमा जाने करिब निश्चित भएको छ । सत्तागठबन्धन दलका तर्फबाट गत चैत १२ गते कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।











-1784808429.png)