Kathmandu Press

५६ जनाको जमानत जफत हुँदा राप्रपाको मत लज्जाजनक 

५६ जनाको जमानत जफत हुँदा राप्रपाको मत लज्जाजनक 

काठमाडौं, वैशाख १३ : प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ। उक्त व्यवस्था वमोजिम उम्मेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनै पर्ने हुन्छ। 

‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’ भन्ने व्यवस्था दफा ७१ छ। वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका ५६ उम्मेदवारले कानुनले तोके अनुरुप मत प्रतिशत पुर्‍याउन सकेनन्। उनीहरुको जमानत जफत भएको छ।

रोचक कुरा त के छ भने अन्यत्र चुनावी लहर ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले बारा– २ मा भने धरौटी जोगाउन सकेन। बार– २ का रास्वपा उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ। उनले खरेलले दुई हजार आठ सय २९ मत मात्र पाए। बैशाख १० को उपनिर्वाचनमा तनहुँ, चितवन र बारामा गरी कुल ६५ जना चुनावी भिडन्तमा उत्रिएका थिए। तिमध्ये ५६ उम्मेदवारको जमानत जफत भयो। तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले, चितवन–२ मा रास्वपाकै रवि लामिछाने र बारा–२ मा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए। उनीहरु निर्वाचित हुँदा चुनावी मैदानमा उत्रेका ६ उम्मेदवारले मात्रै जमानत जोगाउन सके।

तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालबाहेक बाँकी उम्मेदवारले जमानत जोगाउन सकेनन्। राप्रपाले दुई सय १८ मत मात्र पाएको छ। चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेबाहेक बाँकीले जमानत जोगाउन सकेनन्। यता, बारा २ मा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा र एमालेका रमेश पुरुषोत्तम पौडेलबाहेक अरू सबैको धरौटी जफत भयो। 

मंसिर ४ को निर्र्बाचनमा राष्ट्रिय पार्टी बन्दै संसद्को पाँचौँ शक्ति बनेको राप्रपाले यस उपनिर्वाचनमा तीन वटै क्षेत्रमा लज्जास्पद हार बेहोरेको छ। राप्रपाका उम्मेदवारले तीन क्षेत्रमा हजार मत पनि कटाउन सकेनन्। जम्माजम्मी सात सय १२ मत मात्र पाए। तिनै क्षेत्रमा धरौटी जफत भयो। बारामा अघिल्लो निर्वाचनमा लोकप्रिय मत पाएका नवोदित आम पार्टीका उम्मेदवार अरुण ज्ञवालीको पनि यसपल्ट जमानत जफत भएको छ। ्ज्ञवालीले यसपल्ट २ हजार सात सय ३८ मत मात्र प्राप्त गरेका छन्। 
 

प्रकाशित मिति: १७:४८ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्