Kathmandu Press

ओलीमाथि झापामा भएको आक्रमण प्रयासबारे गृहमन्त्रीद्वारा सदनमा जानकारी

ओलीमाथि झापामा भएको आक्रमण प्रयासबारे गृहमन्त्रीद्वारा सदनमा जानकारी

झापा, वैशाख १३ : एमाले अध्यक्ष केपी ओली सहभागी हुने कार्यक्रमस्थलबाहिर प्रहरी र प्रदेशको नाम कोसी राखिएकोमा विरोध गर्दै आइरहेकाहरूको समूहबीच झडप हुँदा दुई प्रहरी घाइते भएकाे र एकजनालाई नियन्त्रणमा लिएइको संदनलाई जानकारी गराइएकाे छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीमाथि झापामा भएको आक्रमणको प्रयासबारे सदनलाई जानकारी गराउँदै साे जानकारी गराएका हुन्। उनका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन्। प्रहरीले घटनास्थलबाट मित्र लिङ्देनलाई नियन्त्रणमा लिएको जनाइएको छ। ओली झापाको कार्यक्रम सकेर इलाम पुगेको जनाइएको छ। 

घटनामा सत्ता पक्षको घुसपैठ भएको भन्दै नेकपा एमालेले संसद् बैठकमा समेत आपत्ति जनाएको थियाे। एमाले सचेतक पदम गिरीले ओलीमाथि झापामा गठबन्धन दलका कार्यकर्ताले ढुंगामुढा गरेर कार्यक्रम भाँड्ने कोसिस गरेको आरोप लगाए। ‘हामीले लडेर लोकतन्त्र ल्यायौं तर आज एउटा कार्यक्रममा एमाले नेतृत्व सहभागी हुन जाँदा जुन किसिमले ढुंगामुढा गर्ने कोसिस गरिन्छ, कार्यक्रम भाँड्न र अशान्ति पैदा गर्न खोजिन्छ, त्यसमा सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको छ’, उनले भने ।

गिरीले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले ओली झापाको बुधबारेमा हुन लागेको कार्यक्रममा जाने क्रममा कोसी नामकरणको विरोधमा रहेका समूहले ढुंगामुढा गर्ने घटना दुःखद भएको बताए।  

‘शान्तिपूर्ण रुपमा आफ्नो विचार राख्न र जनमत निर्माण गर्ने कामलाई सरकार सम्मान गर्ने तर गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिका सट्टा अराजक गतिविधि गर्ने, कुनै पनि नेता, कार्यकर्ता वा नागरिकको शान्तिपूर्ण आवतजावत भेला कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन,’ गृहमन्त्री श्रेष्ठले भने, ‘बलिदानी संघर्ष गरेर प्राप्त गरेको यो संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गरेको नयाँ संविधानको रक्षा गर्न, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न र त्यसले प्राप्त गरेको लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अभ्यासमा जान दिन सरकार प्रतिबद्ध छ ।’

काेसी प्रदेश नाकरणकाे विरोध गर्ने समूहले एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि १०० मिटर वरै रोकिएको र त्यसक्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज पनि गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

त्यस्तै श्रेष्ठले मिटरब्याजी पीडितसँग गरिएको सम्झौतालाई कार्यान्वयन गर्दै यससम्बन्धी समस्या सदाका लागि अन्त्य गरिने बताए। मिटरब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिद्ले स्वीकृत गरिसकेको र छिटै संसदमा पेश गरिने उहाले जानकारी दिए।

उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले नागरिकता सम्बन्धी कानूनलाई सवैको सहमतिमा नै अघि बढाउनका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गरे।

श्रेष्ठले शान्तिप्रक्रियाका बाँकी कामलाई अघि बढाउनका लागि सवैको सहयोग आवश्यक रहेकाले सवैको भावना अनुसार नै संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई अघि बढाइने जिकिर गरे। 

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्