Kathmandu Press

घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : ओली

उनले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्‍याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुटमार्फत तीव्र बनाउन सबै कार्यकर्तालाई आग्रह गरे।
घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : ओली

झापा, वैशाख १३ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन्।

बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरे। एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनले बताए। उनले चारजना व्यक्तिले विगत ७४ वर्षअघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको बताए। 

'खेतको होस् या बारीको पाटो, सहर, गाउँबस्ती, देशविदेश सबै क्षेत्रमा एमाले पुगेको छ', अध्यक्ष ओलीले भने। उनले पार्टीका नेतृत्व र कार्यकर्ताभित्र भएका असन्तुष्टिलाई पार्टीभित्रै छलफल र संवाद गरेर समाधान गर्न आग्रह गरे। 'साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ', उनले भने, 'यसले पार्टीलाई कमजोर बनाउँछ । देश बनाउने अभियान हाम्रो काँधमा छ। विकास, सुशासन र राष्ट्रिय एकताको अभियानमा जुटौँ, पार्टीलाई बलियो बनाऔँ ।'

उनले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्‍याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुटमार्फत तीव्र बनाउन सबै कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति: १५:५८ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्