Kathmandu Press

एकसाथ दुई पुस्तक ल्याउँदै नेपालय

पब्लिकेशन नेपालयले राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’ र हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’ बजारमा ल्याउने तयारी गरेको छ।
एकसाथ दुई पुस्तक ल्याउँदै नेपालय

काठमाडौं, वैशाख १३ : पब्लिकेशन नेपालयले एक साथ दुई पुस्तक पाठकमाझ ल्याउने भएको छ।

पछिल्लो समय ‘हिति प्रणाली’ र ‘७२ सालको भूकम्प’जस्ता अनुसन्धनात्मक कृति प्रकाशन गरेको नेपालयले कविता र लघुकथाका दुई कृति ल्याउन लागेको हो।

कवि राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’ केही दिनमै सार्वजनिक हुनेछ। यो संग्रहभित्र छ वटा फरक खण्ड छन् भने तिनमा ५१ वटा कविता अटाएको नेपालयले जनाएको छ।

Hardik ivf

समाजशास्त्रका विद्यार्थी राजु पेशाले पत्रकार हुन्। पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा उनी सक्रिय छन्। आफ्नो कलमबाट सिमान्तकृत समुदाय, भूमिहरण सम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका राजुको यो पहिलो कविता संग्रह हो ।

 ‘ओ पेङ्दोर्जे’लाई एकसाथ छापा र इ–बुक मात्र नभइ ‘अडियो बुक’ का रुपमा समेत सार्वजनिक गर्ने तयारी गरेको पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताइन्।

पछिल्लो समय कविता पढ्ने मात्र नभइ सुन्ने सिर्जना पनि बनेकाले अडियो बुक पनि निकाल्न लागेको उनले बताइन् । राजुको कविता संग्रहको ‘अडियो बुक’ मा स्वयं कवि, गायक तथा संगीतकार आभाषको धुन पनि रहने छ।

‘ओ पेङ्दोर्जे’ कविता संग्रहलाई विमोचन लगत्तै विश्वभरिका पाठकहरुले अमेजनबाट पनि खरिद गर्नसक्ने ब्यवस्था मिलाइएको प्रमुख कार्यकारी मास्केले जानकारी दिइन्।

यस्तै, नेपालयले हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’ पनि प्रकाशनका लागि तयार पारेको छ। साहित्य र संगीतमा क्रियाशील सर्जक भोजपुरेले ‘मुसुक्क म’मा सयभन्दा बढी लघुकथाहरु संग्रहित छन् ।

तीमध्ये अधिकांश कथाहरु एउटै पानामा सकिएका छन् । एक बसाइमै सर्सर्ती पढ्न सकिने यो रमाइलो पुस्तक भोजपुरे स्वयंको व्यक्तित्वजस्तै रसिलो अनि स्वादिलो भएको नेपालयले जनाएको छ।

छ वर्षयता सिर्जना गरिएका यी लघुकथामध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखिएका बताइएको छ। कोरोनाकालमा लेखक भोजपुरे अमेरिकामा रहेकाले त्यहाँ बस्ने नेपाली भोगाइका प्रतिनिधि कथाहरु पनि यो पुस्तकमा समेटिएको प्रमुख कार्यकारी मास्केले बताइन्।

वि.सं. २०२०मा ‘छहराको गीत’ लेखेर गीतकारको परिचय बनाएका भोजपुरेले त्यसयता गायकबाहेक कवि, गीतकार, कथाकार, उपन्यासकार जस्ता सिर्जनाकै विविध क्षेत्रबाटै आफुलाई चिनाउँदै आएका छन्।

भोजपुरेकृत लघुकथा संग्रह ‘मुसुक्क म’ पनि एकैसाथ भौतिक पुस्तक, इ(बुक र अडियो बुकका रुपमा आउँदैछ भने यो पुस्तक पनि संसारभरिका पाठकले अमेजनबाट खरिद गर्न सक्ने उनले बताइन्।

प्रकाशित मिति: ११:५६ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्