लगानी कोषले पूँजीबजारमा मार्केट मेकरको काम गर्नुपर्छ: अर्थमन्त्री खतिवडा
काठमाडाैं, माघ १३ : अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताएका छन्। 
काठमाडाैं, माघ १३ : अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताएका छन्।
संघीय संसदको अर्थ समितिको सोमबारको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा अर्थमन्त्री डा खतिवडालेकोषले सहायक कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र त्यसले बजार विस्तारका अतिरिक्त सुदृढीकरणमा समेत काम गर्ने बताएका हुन्। उनले कोषको सहायक कम्पनी स्थापना गरी पूँजीबजारमा लगानी बढाउने तयारीमा सरकार अगाडी बढेको स्पष्ट पारे।
छलफलमा अर्थमन्त्रीले कोष मुद्राबजारको संस्था नभई पूँजीबजारको संस्था भएको उल्लेख गर्दै ‘मार्केट मेकर’ अत्यावश्यक भएकाले पनि त्यसतर्फ केन्द्रीत हुन लागेको बताए। अर्थमन्त्री खतिवडाले भने,“सहायक कम्पनीमार्फत कोषले पूँजीबजारमा मार्केट मेकरको काम गर्छ। त्यसका लागि कोषको पूँजी तीन अर्ब पर्याप्त छ।”
लगानीकर्ताको हितका लागि स्थापना गरिएको कोष वाणिज्य बैंक जस्तो नरहेको र ट्रष्टी पनि नभएको उनको भनाइ थियो। उनले कोष सामान्य नाफामूलक सार्वजनिक संस्था भएको र सङ्कलन गरिएको रकमको सुरक्षित लगानी गर्ने निकाय मात्रै भएको जानकारी दिए। “कोष वाणिज्य बैंक जस्तो नाफा कमाउने संस्था त होइन, तर लगानी सुरक्षित भने हुनुपर्छ । त्यसकाकारण यसलाई अन्य नाफामूलक संस्था जसरी तुलना गरिनु उपयुक्त हुँदैन”, उनले भने।
उनले नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई सामाजिक सुरक्षा कोषसँग मेल खाने गरी कुनै पनि प्रकारको योजना नल्याउनसमेत निर्देशन दिए। कर्मचारी सञ्चयकोषका अध्यक्ष समेत रहेका राजश्व सचिव शिशिरकुमार ढुङ्गानालाई निर्देशन दिँदै उनले भने, “कर्मचारी सञ्चयकोषको अध्यक्ष पनि यहीँ हुनुहुन्छ। सकेसम्म सामाजिक सुरक्षा कोषसँग मिल्ने गरी कुनै पनि योजना नल्याउनुस्।”
समितिको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफल जारी छ। सांसदहरुले दर्ता गराउनुभएको संशोधन प्रस्तावमाथि नियमित छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए। रासस










-1754206481.jpg)
