Kathmandu Press

उपनिर्वाचन पछि नेताहरुको प्रतिक्रिया- दलभित्र रुपान्तरणको आवाजलाई सहयोग पुर्‍यायो

नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेताहरूले संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा रास्वपाले प्राप्त गरेको नतिजालाई कुनै चमत्कारका रुपमा हेरिन नहुने तर्क गरे।
उपनिर्वाचन पछि नेताहरुको प्रतिक्रिया- दलभित्र रुपान्तरणको आवाजलाई सहयोग पुर्‍यायो

काठमाडौं, वैशाख १२ : उपनिर्वाचनको परिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पु¥याएको विभिन्न राजनीतिक दलका नेताहरुले प्रतिक्रिया दिएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेताहरूले संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा रास्वपाले प्राप्त गरेको नतिजालाई कुनै चमत्कारका रुपमा हेरिन नहुने तर्क गरे।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनको परिणामलाई गम्भीर चिन्तन मननका साथ समीक्षा गर्दै कमीकमजोरी पहिचान गरी सुधार्नेतर्फ काम गर्न आवश्यक रहेको बताए।

‘निर्वाचनको नतिजाले हामीलाई ठूलो शिक्षा दिएको छ, जनताका चाहना र आवाजलाई के कति पूरा भए भएन त्यो पनि समीक्षा गर्नुपर्छ,’ अध्यक्ष नेपालले भने। उनले  निर्वाचनपछि सबैको परिक्षाको घडी सुरु भएको बताउँदे पटक–पटकको परीक्षा उतिर्ण हुन नसके जनताको विश्वास कुनै दिन पनि गुम्न सक्ने जिकिर गरे।

यस्तै, नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रजातान्त्रिक प्रक्रियामा जनताले दिएको अभिमतलाई सम्मान गर्नुपर्ने बताए। उनले भने, ‘रवी लामिछानेजी विद्रोही होइन, संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्नुभएको छ, ठूला दलभित्र रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई चुनावी नतिजाले बल पुगेको छ, तर कुनै चमत्कार भने भएको होइन।’

उनले संविधान र व्यवस्था मानेर कुनै दल आउछ भने निषेध नभइ स्वागत गर्नुपर्ने धारणा राखे। भट्टराईले कुनै पनि दलको परिणामले अर्को दललाई सकारात्मक प्रभाव पार्ने भएकाले ठूला दलका सन्दर्भमा रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाउने अर्थमा लिनुपर्ने पनि बताए।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरतापूर्वक हेरेको प्रतिक्रिया दिए। उनले जनताको अभिमत लोकतन्त्र हो भएको बताउँदै निर्वाचनको नतिजाबारे पार्टीभित्र गम्भीर छलफल र विश्लेषण हुने बताए । उनले एउटा क्षेत्रको निर्वाचनको परिणामलाई समग्रमा लिएर विश्लेषण गरिनु नहुने बताए।

नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले उपनिर्वाचनको परिणामबाट मुलधारका मानिएका पार्टीले आफूलाई गम्भीरताका साथ सच्याउनुपर्छ भन्ने सन्देश प्राप्त भएको बताए । उनले पुराना दलहरुले नियमित लयलाई बदलेर जनताको भावनाअनुसार काम गर्नुपर्ने बताए।

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्