तनहुँमा कांग्रेसकाे मत यथावत, एमालेलाई बढी क्षति
मत परिणामको आँकलन गर्दा कांग्रेसका उम्मेदवार भट्टराईले पार्टीको मत जोगाएका छन् । खनाललाई भने एमालेले नै मत नहालेको देखिन्छ।
काठमाडौं, वैशाख १२ : तनहुँ १ बाट उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। उनी ३४ हजार नौ सय १९ मतसहित निर्वाचित भएका हुन्।
वाग्लेले जित्दा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मतसहित दोस्रो भए । सापेक्षिक रुपमा नेकपा एमाले मंसिर ४ को निर्वाचनमा भन्दा निकै कमजोर देखियो। एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत मात्र पाए।
मत परिणामको आँकलन गर्दा कांग्रेसका उम्मेदवार भट्टराईले पार्टीको मत जोगाएका छन् । खनाललाई भने एमालेले नै मत नहालेको देखिन्छ। मंसिर ४ को निर्वाचनको तुलनामा आधाभन्दा पनि कम मत पाउनुले यही अवस्था दर्शाउँछ ।
गत निर्वाचनमा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार नौ सय ८१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका थिए । समानुपातिकतर्फ एमालेले १६ हजार ६ सय ८३ मत ल्याएको थियो । अहिले भने यो मत ह्वात्तै घटेर आधामा सिमित भएको छ ।
एमालेका ति आधा मत वाग्लेतिर सरेको परिणामबाट देखिन्छ । एमालेले देवघाट गाउँपालिकाको एउटा वडाबाहेक कहीँ पनि आफ्नो भोट जोगाउन सकेको छैैन।
यता, कांग्रेसले भने हार्दा पनि आफ्नो भोट सुरक्षित राख्न सकेको देखिन्छ । गत मंसिर ४ को निर्वाचनमा हाल राष्ट्रपति रहेका रामचन्द्र पौडेल विजयी हुँदा २५ हजार हाराहारी मत ल्याएका थिए । तर समानुपातिकमा भने कांग्रेसले २० हजार १ सय ५८ मत पाएको थियो । त्यो बेलाको समानुपातिक मत जति यसपल्टको चुनावमा पनि कांग्रेसले पाएको छ।
तनहुँ १ मा एमाले मात्र नभइ माओवादी केन्द्रले जितेका अधिकांश वडामा रास्वपालाई मत गएको छ । आफ्ना मत सुरक्षित राखे पनि कांग्रेस उम्मेदवार भट्टराईको हारले कांग्रेसको एक सिट घटेको छ। सबैभन्दा ठूलो धक्का एमालेले व्यहोरेको छ । राप्रपाले त जमानत समेत जोगाउन सकेन।











-1784808429.png)