फ्लाई दुबईका दुई उच्च अधिकारीलाई विमानस्थल प्रवेशमा रोक
काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
काठमाडौं, वैशाख १२ः सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए । तर, फ्लाइ दुबईले भने चरा ठोक्किएको हुनसक्ने बताउँदै ट्विट गरेको थियो । प्राधिकरणले भौतिक रुपमा गरेको निरिक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको बताएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताएका छन् ।
प्राधिकरणले भ्रमपूर्ण समाचार फैलाएको भन्दै फ्लाइ दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्ट पास निष्कृय पार्ने निर्णय गरेको जनाएको छ । उनीहरुले विमानस्थल भित्र प्रवेश पाउने छैनन् ।
फ्लाइ दुबई संयुक्त अरब इमिरेट्समा दर्ता भएका कारण नेपालको नियामक निकायले सो कम्पनीबारे अनुसन्धान गर्न पाउँदैन । प्राधिकरणका अनुसार सोमबार के कारणले जहाजको इन्जिन पड्किएको हो, के कारणले आगो देखिएको हो भन्नेबारे सोही मुलुकको नागरिक उड्डयन प्राधिकरणबाट जानकारी लिनेछ ।











-1784808429.png)