उपनिर्वाचनमा राप्रपाको जमानत जफत
हालसम्मको अवस्था हेर्दा परिणाम घोषणा हुन बाँकी बारा २ मा पनि राप्रपाको जमानत जफत हुने संकेत देखिएको छ।
काठमाडौं, वैशाख १२ : उपनिर्वाचनको परिणाम घोषणा भएको चितवन २ र तनहुँ १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जमानत जफत भएको छ । हालसम्मको अवस्था हेर्दा परिणाम घोषणा हुन बाँकी बारा २ मा पनि राप्रपाको जमानत जफत हुने संकेत देखिएको छ।
उपनिर्वाचन सम्पन्न भएको चितवन–२ मा रास्वपाका सभापति रवि लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याएर विजयी हुँदा राप्रपाका उम्मेदवार जीवलाल पुरीले तीन सय ६१ मत मात्र पाए। मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा राप्रपाले नौ सय ५५ मत ल्याएको थियो।
उक्त निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत ल्याएर दोस्रो भए । एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत पाएर तेस्रो भएका छन्।
तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेले ३४ हजार नौ सय १९ मत ल्याएर विजयी हुँदा राप्रपाकी शोभा गुरुङले भने जम्मा दुई सय १८ मत मात्र पाइन् । मङ्सिर ४ मा सम्पन्न आम चुनावमा राप्रपाका विनोदकुमार घर्तीले दुई हजार चार सय ४८ मत पाएका थिए। आम चुनावमा भन्दा उपचुनावमा राप्रपाको मत परिणाम नाजुक देखिएको छ।
तनहुँ २ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार एक सय २२ मत पाएर दोस्रो भए । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत पाएर तेस्रो भए।
यता घोषणा हुन बाँकी बारा २ मा पनि राप्रपाको स्थिति अत्यन्त नाजुक देखिएको छ। यस क्षेत्रमा पनि राप्रपाले धरौटी जोगाउन नसक्ने अबस्था देखिएको छ। उपनिर्वाचन परिणामले हिन्दु राष्ट्र, राजतन्त्र पुनःस्थापना र सङ्घीयता खारेजीको माग गर्दै आएको राप्रपाको मुद्दा संकटमा पारिदिएको छ।











-1784808429.png)