अनावश्यक तार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम
बिजुली, टेलिफोन, इन्टरनेट तथा केवललगायत तारको प्रयोग गरेर सेवा प्रदान गरिरहेका सेवा प्रदायक निकायलाई १५ दिनभित्र तार व्यवस्थित गर्न महानगरले भनेको हो ।
काठमाडौं, वैशाख १२ : काठमाडौं महानगरपालिकाले सडकका पोलमा रहेका बिजुली, टेलिफोन, इन्टरनेट तथा केवललगायत तार व्यवस्थित गर्न निर्देशन दिएको छ ।
बिजुली, टेलिफोन, इन्टरनेट तथा केवललगायत तारको प्रयोग गरेर सेवा प्रदान गरिरहेका सेवा प्रदायक निकायलाई १५ दिनभित्र तार व्यवस्थित गर्न महानगरले भनेको हो ।
पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तारले सहरी सुन्दरतामा ह्रास पुर्याएको आगलागीको जोखिम बढाइरहेको तथा सार्वजनिक आवागमनमा असर गरिरहेको महानगरले बताएको छ ।
“यसबाट हुनसक्ने जोखिम घटाउन काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकायसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको छ । निर्णय कार्यान्वयन गर्न पटकपटक पत्र पठाएर ताकेतासमेत गरिसकेको छ,” महानगरले सार्वजनिक सूचनामा भनेको छ, “सेवा प्रदायकलाई आवश्यक पर्ने समन्वय र सहजीकरणका लागि नियामक निकायहरूलाई यसैसाथ अनुरोध गरिएको छ ।”
१५ दिनभित्र अनावश्यक तार, केवल आफैँ हटाउन र आवश्यक पर्ने तारलाई संकेत चिह्न लगाएर पहिचान गर्न सहज हुने वातावरण बनाउन महानगरले आग्रह गरेको छ । १५ दिनभित्र उक्त ताररकेवल नहटाए महानगरपालिका आफैँले हटाउने सूचनामा उल्लेख छ ।












