मतदातालाई आभार व्यक्त गर्दै गोविन्द भट्टराईले भने– जनादेशलाई शिरोपर गर्छु
‘सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ। तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’
काठमाडौं, वैशाख ११ : उपनिर्वाचनमा तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले पराजयलाई सहज रुपमा स्वीकार गर्दै सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्।
मतगणना नसकिँदै भट्टराईले समाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग झण्डै १० हजार मतले पछि छन्।
भट्टराईले जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता फेसबुकमार्फत व्यक्त गरेका छन्। उनले जनताप्रतिको विश्वास पुरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न नसकेको बताएका छन्। उनले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेकोमा त्यसले आफूलाई खुसी बनाएको उल्लखे गरेका छन्।
‘चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें,’ उनले खेलेका छन्, ‘सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ। तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’
पदलाई कहिल्यै प्राथमिकतामा नराखेको बताउँदै भट्टराईले पदमा नरहे पनि जनताको पीडाले आफूलाई साधैं छोइरहने उल्लखे गरेका छन्।
‘ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ,’ उनले लेखेका छन्, ‘यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ।’
भट्टराईले विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने र मत नहाल्नेहरु सबैलाई पनि धन्यवाद दिएका छन्।











