संसदीय समितिमा भागबन्डा मिल्यो, एमालेले तीन वटा समितिको नेतृत्व पाउने
सहमतिअनुसार प्रमुख प्रतिपक्षी दल एमालेले एउटा विशेषसहित तीनवटा समितिको नेतृत्व पाउने छ । एमालेलाई राज्यको निर्देशक, नीति तथा दायित्व समिति, सार्वजनिक लेखा समिति र अर्को एउटा समिति दिने सहमति भएको छ।
काठमाडौं, वैशाख ११ : प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागवन्डा मिलेको छ। सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको बैठकमा समितिको भागबन्डा भएको हो ।
सहमतिअनुसार प्रमुख प्रतिपक्षी दल एमालेले एउटा विशेषसहित तीनवटा समितिको नेतृत्व पाउने छ । एमालेलाई राज्यको निर्देशक, नीति तथा दायित्व समिति, सार्वजनिक लेखा समिति र अर्को एउटा समिति दिने सहमति भएको छ।
यस्तै, शीर्ष नेताबीच संसदीय सुनुवाई विशेष समितिको नेतृत्व कांग्रेसले लिने सहमति भएको छ। संसदीय सुनुवाइ समितिमा कांग्रेस र एमालेका ४र४ सदस्य हुनेछन् । अन्य सदस्यहरुमा माओवादी, रास्वपा, राप्रपा, जसपाका सदस्य रहनेछन् ।
प्रतिनिधिसभाबाट गत चैत १९ मा पारित नियमावलीले प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा गरी १० वटा समिति रहने व्यवस्था गरेको छ ।
अन्य समितिको नेतृत्वका विषयमा भने सत्तारुढ दलहरुले छलफल गरेर मिलाउने सहमति भएको छ।











