लुम्बिनी सरकार नेतृत्वमा कांग्रेसको दाबी
सत्तारुढ गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टीलगायतले सोमबार नै प्रदेश प्रमुख कार्यालयमा पुगेर नयाँ सरकार गठनको आव्हान गर्न माग गरेका छन्।
बुटबल, वैशाख ११ : लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसले दाबी गरेको छ। मुख्यमन्त्री लिला गिरी पदमुक्त भएपछि सरकारको नेतृत्वमा कांग्रेसले दाबी गरेको हो।
सोमबार भएको प्रदेशसभा बैठकमा विश्वासको मत पाउन असफल भएपछि मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका थिए। त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले अर्को मुख्यमन्त्री चयन नहुँदासम्म मौजुदा मन्त्रिपरिषदलाई नै कामचलाउ सरकारका रुपमा तोकेका छन्।
सत्तारुढ गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टीलगायतले सोमबार नै प्रदेश प्रमुख कार्यालयमा पुगेर नयाँ सरकार गठनको आव्हान गर्न माग गरेका छन्। उनीहरूले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको आह्वान गर्न माग गरेका हुन्।
संविधानको धारा १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।
यता, एमालेले पनि संविधानको १६८(३) बमोजिम ठूलो दलको हैसियतले आफैंले सरकारको नेतृत्व पाउनु पर्ने दाबी गरेको छ। लुम्बिनीमा एमाले २९ सिटसहित पहिलो दल हो।
विश्वासको मत नपाएर पदमुक्त भएका मुख्यमन्त्री गिरी प्रदेश प्रमुख कार्यालय पुगेर ठूलो दलको हैसियतमा आफैंले सरकार नेतृत्व गर्न पाउनु पर्ने दाबी गरेका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ ९२० अनुसार कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त तयारी गरेका छन् । प्रदेश प्रमुख शेरचनले अहिले दुवै दलका नेताहरुलाई भेटका लागि समय दिएका छन्।











