Kathmandu Press

रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु

जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःबहालमा पुर्‍याइएको छ।  रथ तान्नुअगाडि गुरुज्यूको पल्टनबाट सलामी दिइएको थियो।
रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु

काठमाडौं, वैशाख ११ : वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सोमबारबाट सुरु भएको छ।

जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःबहालमा पुर्‍याइएको छ।  रथ तान्नुअगाडि गुरुज्यूको पल्टनबाट सलामी दिइएको थियो। मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ।

रातो मच्छिन्द्रनाथ जात्रालाई पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ। हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्। मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ। यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा  समापन हुन्छ।

पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराइएको किंवदन्ती छ। 

प्रकाशित मिति: १८:३२ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्