तनहुँ १ मा स्वर्णिम र चितवन २ मा रविकाे अग्रता, बारामा घरी उपेन्द्र र घरी शिवचन्द्र
तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रतालाई कायम राखिरहे पनि बारा २ मा भने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहा झिनो मतले अघिपछि भइरहेका छन्।
काठमाडाैं, वैशाख ११ : प्रतिनिधिसभाका रिक्त तीन सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ। तनहुँ १, चितवन २ र बारा २ मा भएको उपनिर्वाचनको मतगणना पनि आइरहेका छन्।
तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रतालाई कायम राखिरहे पनि बारा २ मा भने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहा झिनो मतले अघिपछि भइरहेका छन्।
तनहुँ १
तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेले फराकिलो मतान्तरले अगाडि छन्। उनी प्रारम्भिक नतिजा आउन थालेदेखि नै अघि छन्। उनले साँझ सवा ५ बजेसम्म १९ हजार ४४९ मत ल्याएका छन्। उनलाई ११ हजार २७९ मत ल्याएर कांग्रेसका गोविन्द भट्टराईले पछ्याइरहेका छन्।
वाग्ले र भट्टराईबीचको मतान्तर सात हजारभन्दा बढी छ। तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार १५१ मत ल्याएएका छन्।
तनहुँ १ मा ६३ हजार ७ सय ५७ मत खसेको छ।
चितवन २
चितवन २ रास्वपा सभापति रवि लामिछानेले अग्रता लिइरहेका छन्। प्रारम्भिक नतिजा आउँदा एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिए पनि अहिले लामिछाने फरमकिलो मतान्तरले अगाडि बढिरहेका छन्।
अहिलेसम्मको परिणामअनुसार रविले ३ हजार ६०२ मत पाएका छन्। दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ८२ र तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले १ हजार ४९४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
चितवन २ मा १ लाख २४ हजार छ सय ९७ जना मतदाता रहे पनि ७८ हजार २ सय ७७ मत मात्रै खसेको छ।
बारा २
बारा २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाह अगाडिपछाडि भइरहेका छन्।
प्रारम्भिक परिणाम सार्वजनिक हुँदा अघि रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई उछिनेर अगाडि लागेका शिवचन्द्र फेरि झिनो मतले पछि परेका छन्।
यादवले ग्रता लिने क्रममा १ हजार ३९० मत पाएका छन् भने उनलाई पछ्याएका कुशवाहले १ हजार ३०१ मत पाएका छन्।
त्यसैगरी एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत पाएका छन्।











