‘नेपाली लोकतन्त्र जय होस्’
काठमाडौं, वैशाख ११ : नेपालमा आज लोकतन्त्र दिवस। आज वैशाख ११ नेपाली लोकतन्त्र स्थापित भएको दिन। नेपाली लोकतन्त्रले आज १७ वर्ष पूरा गरेको छ। दोस्रो जनआन्दोलनका रुपमा चर्चित २०६२/६३ को राजनीतिक आन्दोलन सफल भएको आजको दिन अर्थात् वैशाख ११ को दिनलाई स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ।
विसं २०६२/६३ को आन्दोलनपछि आजैको दिन तत्कालीन राज्यसत्ता आन्दोलनकारी शक्तिसँग सम्झौता गर्न बाध्य भएको थियो। विसं २०६३ वैशाख ११ का राति राजतन्त्रले संसद् पुनःस्थापनाको घोषणा गरी आफ्नो आयु अन्त्यको दिन गणना प्रारम्भ गरेको थियो।
निश्चय पनि आजको दिन नेपाल र नेपालीका लागि विशेष छ। थुप्रै सहिदको शहादतपछि स्थापित यो दिनको भावनात्मक महत्व हाम्रा लागि निश्चय पनि स्मरणयोग्य छ। यस दिनपछि मात्र नेपालीले स्वयंलाई देशको सम्प्रभू नागरिकका रुपमा स्थापित र परिभाषित गर्ने अवसर प्राप्त गर्न सकेका हुन्। रैतीबाट जनता–नागरिक बनेका हुन्। दोस्रो जनआन्दोलनको सर्वाधिक महत्वपूर्ण उपलब्धि नै देशमा लोकतन्त्र स्थापित हुनु हो।
विगतमा दुई सय ४० वर्षभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको राजतन्त्रको अन्त्यको जग आजैको दिनले बसाएको हो। आजैको दिनको जगमा टेकेर नेपालमा गणतन्त्र स्थापना भएको हो भन्दा असत्य ठहर्दैन। एउटा व्यक्ति र परिवारबाट देशको शासन सत्ता जनतामा आउने कुराको सुनिश्चितता यही दिनले गरेको हो। यस अर्थमा आजको दिन नेपालीका लागि निकै विशेष छ।
त्यसो त २०६२/६३ को आन्दोलनको विरोध र आलोचना गर्नेहरुको पनि कमी छैन। तर तिनले पनि के बुझ्नुपर्छ भने विरोध र आलोचना गर्न अधिकार पनि तिनलाई यही लोकतन्त्रले दिएको हो। लोकतन्त्रको सर्वाधिक महत्वपूर्ण पक्ष नै यही हो कि यसले आफूविरुद्ध पनि विचार अभिव्यक्त गर्ने स्वतन्त्रता आम व्यक्तिलाई प्रदान गर्दछ, जुन कुरा हिजोको राजतन्त्रमा सम्भव थिएन। लोकतन्त्रको मूल ध्येय नै आम व्यक्तिलाई अधिकारसम्पन्न बनाउँदै देशमा सकारात्मक परिवर्तन ल्याउनु हो।
लोकतन्त्र दिवसका बारेमा चर्चा गरिरहँदा सर्वप्रथम लोकतन्त्रको अर्थ र परिभाषाकै सन्दर्भमा कुरा गरेर नेपाली लोकतन्त्रको विश्लेषण गर्नु जरुरी हुन्छ। प्रसिद्ध दार्शनिक एरिस्टोटल ९अरस्तु०ले लोकतन्त्रलाई परिभाषित गर्ने सन्दर्भमा लोकतन्त्रमा धनीभन्दा गरिबहरु बढी शक्तिशाली हुन्छन् किनकी समाजमा गरिबहरुको वर्चस्व हुन्छ भनेर भनेका छन्।
अर्का प्रसिद्ध विचारक एवं अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिङ्कनको, जनताद्वारा जनताका लागि जनतामार्फत गरिने शासन व्यवस्था नै वास्तविक लोकतन्त्र हो, भन्ने भनाइबाट आजको युगमा कोही पनि अनभिज्ञ छैनन्। लोकतन्त्रका बारेमा थोरै पनि जानकारी राख्ने जो कोहीले पनि लिङ्कनको यो भनाइका बारेमा थाहा पाएका छन्।
यस शताब्दीका महान विचारक नोवेल पुरस्कार विजेता अमत्र्य सेनले लोककल्याणकारी राज्य र सरकारका सन्दर्भमा लोकतन्त्रको महत्व प्रष्ट्याउँदै भनेका छन्, समकालीन समाजमा लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गरेको सरकारले मात्र जनताका आधारभूत आवश्यकता र चाहनालाई सम्बोधन गर्ने सामर्थ्य राख्दछन्।
अर्का विचारक समाजशास्त्री जेम्स माहोनीले व्यक्त गरेको विचार पनि निकै महत्वपूर्ण छ। उनको विचार मननीय मात्र छैन, विश्लेषण गर्ने हो भने उनको विचारले लोकतान्त्रिक शासन व्यवस्थाको परीक्षण गर्ने कसी पनि होभन्दा अस्वाभाविक हुँदैन। उनको शब्दमा– लोकतन्त्रले सहभागितामूलक शासन व्यवस्थामा विश्वास गर्दछ, पारदर्शीताको वकालत गर्दछ र उत्तरदायित्वलाई सधैँभरि आत्मसात गर्दछ। उनको विचारको विश्लेषण गर्ने हो भने लोकतन्त्रका सन्दर्भमा आजको शासन सहभागितामूलक, पारदर्शी र उत्तरदायी हुनुपर्छ भन्ने कुरा स्पष्टरुपमा बुझ्न सकिन्छ। बुझ्नुपर्छ।
पछिल्लो पुस्ताको लोकतन्त्रको कुरा गर्ने हो भने लोकतन्त्र प्रतिनिधिमूलक होइन सहभागितामूलक हुनु जरुरी छ। लोकतन्त्रका सञ्चालकहरुको ध्यान यसतर्फ जतिसक्दो छिटो आकर्षित हुनु आवश्यक छ।
माथि उल्लेखित विभिन्न विचारहरुको आलोकमा विश्लेषणको प्रयत्न गर्ने हो भने नेपाली लोकतन्त्रको विद्यमान अवस्थाबाट पूर्णतः सन्तुष्ट हुन सकिने अवस्था छैन। माथिका सबै विचारले नागरिक र जनतालाई केन्द्रमा राखेको छ। तर नेपाली लोकतन्त्रको अवस्थाको मूल्याङ्कन गर्ने हो भने यहाँ जनतालाई केन्द्रमा राख्ने कुरामा अझै केही समस्या छन्।
लोकतन्त्र दिवसको सन्दर्भमा एउटा कुरा स्वीकार्नै पर्छ, नेपाली लोकतन्त्र अझै पनि सुदृढ र संस्थागत हुने दिशामा अनेकौँ चुनौती र समस्या विद्यमान छन्। लोकतन्त्र धेरै हदसम्म जनतालाई आवश्यक सेवा प्रदान गर्ने सेवा प्रदायक संयन्त्र हो। तर दुःखका साथ भन्नुपर्ने हुन्छ नेपाली लोकतन्त्रले आफूमा यो चरित्रको समुचित विकास अझै पनि गर्न सकेको छैन। विभिन्न नाममा हुने अनियमितता र भ्रष्टाचार नेपाली लोकतन्त्रका प्रमुख चुनौती बनेका छन्। यसैगरी नातावाद र कृपावाद अर्काथरि धमिरा बनेका छन्। जबकी यी विसङ्गतिहरुको लोकतन्त्रसँग कुनै साइनो हुुँदैन।
यस्तै विसङ्गतिहरुबाट समाजलाई मुक्त पारी जनतालाई आवश्यक सेवा सहज रुपमा प्रदान गर्ने प्रक्रियालाई चुस्त बनाउनुु लोकतन्त्रको महत्वपूर्ण गुण हो। आज झस्केलाबाट लोकतन्त्र विरोधीहरुले लोकतन्त्र नै अफाप भयो भन्ने प्रचार गर्ने अवसर पाएका छन् र यसमा कुनै शङ्का छैन उनीहरुलाई यो अवसर नेपाली लोकतन्त्रका सञ्चालकहरुले नै प्रदान गरेका हुन्। लोकतन्त्रका पक्षपातीहरु यी विषयमा गम्भीर हुन नसक्दा अधिनायक र एकाधिकारवादीहरुका लागि यो स्थिति अनुकूल हुने खतरा बढेको कुरालाई अस्वीकार गर्न सकिँदैन। कम्तिमा अहिले सरकारको नेतृत्वमा रहेकाहरुका लागि यी कुरा सोचनीय छन, हुनुपर्दछ।
लोकतन्त्रका सन्दर्भमा देखिएका र देखिने यी समस्या नेपालको मात्र नहुन सक्छ। कुनै न कुनै रुपमा विश्वमै यसबारे बहस चलिरहेका छन्। पछिल्ला दिनहरुमा विश्वमा लोकप्रियताबादको अवधारणाले स्थान बनाउन खोजेको पाइन्छ। आम व्यक्ति सिद्धान्त र व्यवहारभन्दा पनि यदाकदा लोकप्रियताको चास्नीमा फस्न पुग्छन्। यस्तो लोकप्रियताले व्यक्तिपूजनको अवस्थाको सिर्जना गर्दछ र यस्तो अवस्थाले कालान्तरमा लोकतन्त्र नै सङ्कटमा पर्न सक्ने सम्भावना निम्त्याउन सक्छ।
कुनै दुई मत छैन, विश्वकै उत्कृष्ट शासन व्यवस्था हो, यसमा शङ्का छैन तर लोकतन्त्र कहिल्यै पनि स्वयंमा पूर्ण शासन प्रणाली होइन, यसमा पनि शङ्का हुन सक्दैन। सत्य त के हो भने लोकतन्त्र मात्र यस्तो शासन प्रणाली हो, जसले स्वयंमा उत्कृष्टताहरु थप्न र सर्वोत्कृष्ट बनाउन आवश्यक संयन्त्र, अवयव र सिद्धान्तहरुको उपस्थिति तथा संलग्नतालाई स्वीकार गर्छ। अन्तरव्यवस्थापिका परिषद्ले यस विषयमा चासो राख्ने गरेको छ र लोकतन्त्रलाई जनताको जिम्मेवार शासन प्रणालीका रुपमा विकसित गर्ने प्रयत्न थालेको छ।
लोकतन्त्रको विकल्प भनेको निरन्तर लोकतान्त्रीकरण मात्र हो। लोकतन्त्रका मूल्य पद्धतिमा परिष्कृत गर्दै मानव चाहनाको उच्चतम् सम्बोधनमार्फत प्रणालीगत सुधारमा चिन्तन–प्रवाह जारी छ। लोकतन्त्रले सामाजिक जीवनमा पारेको अद्भूत प्रभावलाई आज विश्वव्यापीरुपमा स्वीकार गरिएको छ।
नेपालमा लोकतन्त्र र यसपछि गणतन्त्रको स्थापना भएको छ र विकसित भइरहेको छ। नागरिक साँच्चै सम्प्रभु सम्पन्न भएका छन् र वैयक्तिक विकासको मार्गमा होमिएका छन्। नागरिकले विगतदेखि वर्तमानसम्मको अनुभवको आधारमा लोकतान्त्रिक शासनलाई उत्कृष्ट ठहर्याएका छन्। मूल कुरा हो जनताको जीवनस्तरमा सुधार। जनतालाई विश्वास छ, लोकतन्त्रले उनीहरुको आशालाई साकार रुप प्रदान गर्नेछ। कम्तीमा लोकतन्त्रका पक्षपातीबाट यस दिशामा सामूहिक प्रयत्न आवश्यक छ।
लोकतन्त्र दिवस मनाइरहँदा योसँग जोडिएर थुप्रै विषय हाम्रासामु उपस्थित छन्। मूल विषय जनताले अनुभूत गर्ने उपलब्धि र राजनीतिक प्रणालीको संस्थागत विकासको कुरा हो। आम नेपाली जनताको ठूलो सङ्घर्षपछि प्राप्त लोकतन्त्रको विद्यमान अवस्था र चित्रका सन्दर्भमा हामीले गम्भीर वस्तुगत विश्लेषण गर्नु आवश्यक छ।
(लेखक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हुन्)