Kathmandu Press

सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ शुरु  

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा चिया समयपछि सनुवाइ शुरु भएको हो।
सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ शुरु  

काठमाडौं, वैशाख ११ : नाबालिग बलात्कारको अभियोगमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा अन्तिम सुनुवाई शुरु भएको छ। 

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा चिया समयपछि सनुवाइ शुरु भएको हो। अहिले बादी तर्फ सरकारी वकिलको सुनुवाई चलिरहेको छ। सरकारी वकीलको वहश सकिएपछि जाहेरवालाका कानुन व्यवसायीले वहश गर्ने छन्।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जिल्लाको आदेशविरुद्ध लामिछानेले दिएको निवेदनमा उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा तारेखमा रहने आदेश दिएको थियो। 

त्यसपछि लामिछानेले दिएको अर्को निवेदनमा गत फागुन १५ गते सर्वोच्चले विदेश जान लागेको रोक फुकुवा गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको छ। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत मातहतका अदालतलाई आदेश दिएको छ।  

यसअघि अदालतले आदेश दिए वमोजिम क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र गराईसकिएको छ। क्रिकेटर आलम सन्दीपका साथी हुन्।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरूद्ध गत भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। दुईतर्फी अन्तिम वहश सकिएपछि जिल्ला अदालतले अन्तिम फैसलाको मिति तोक्ने भएको छ। 
 

प्रकाशित मिति: १५:१८ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्