पार्टीमा सुधार गर्दै अघि बढ्नुपर्ने अवस्था आएको छ : देउवा
कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनको प्रारम्भिक परिणामले पार्टीसामु चुनौती खडा भएको पनि बताएका छन्।
काठमाडौं, वैशाख ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनको प्रारम्भिक परिणामले पार्टीमा सुधार ल्याउन सबै एकजुट भएर अघि बढ्नुपर्ने अवस्था आएको बताएका छन्।
कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनको प्रारम्भिक परिणामले पार्टीसामु चुनौती खडा भएको पनि बताएका छन्। बैठकको सुरुआतमै देउवाले यस्तो धारणा राखेका हुन्। तनहुँ १ को प्रारम्भिक मत गणनाले कांग्रेसको सन्तोषजनक परिणाम नदेखाएपछि देउवा चिन्तित देखिएको एक सांसदले बताए ।
‘पार्टीभित्र एकताको सन्देश दिनुपर्ने र चुनौतीको समीक्षा गर्दै अघि बढ्नुपर्ने अवस्था आएको छ,’ बैठकमा सहभागी एक सांसदले जानकारी दिँदै भने। बैठकमा सभापति देउवाले गम्भीर रूपमा समीक्षा गरेर जनता समक्ष एकताको सन्देश दिनुुपर्ने बताएका थिए। आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारे पनि उनले सांसदहरूसँग जिज्ञासा राखेका थिए।
देउवाले आउँदो बजेटमा जनमुखी र कांग्रेस ‘पपुलर’ बन्ने कार्यक्रम समावेश गरिने भनाई पनि राखेका थिए ।
अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएका कारण बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने भनाइ देउवाको रहेको बैठकमा सहभागी ती सांसदको भनाइ छ।
बैठकमा सांसदहरूले आगामी बजेटमा जनताका माग सम्बोधन गर्ने गरी विशेष कार्ययोजना ल्याउनुपर्ने धारणा राखेका थिए।











