Kathmandu Press

उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा देउवाद्वारा आभार व्यक्त

सभापति देउवाले उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको उल्लेख गर्दै मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका छन्।
उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा देउवाद्वारा आभार व्यक्त

काठमाडौं, वैशाख १० : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन्।

उपनिर्वाचन सम्पन्न भएपछि विज्ञप्तिमार्फत सभापति देउवाले उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको उल्लेख गर्दै मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका छन्।

‘यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु। निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा सम्बन्धित क्षेत्रका सम्पूर्ण मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु’, विज्ञप्तिमा उल्लेख छ।

सभापति देउवाले उपनिर्वाचन भएका तीनवटै क्षेत्रहरूमा शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।

निर्वाचन सफल गराउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति समेत उनले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०:४४ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्