आचारसंहिता उल्लंघन गरेको भन्दै रवि लामिछानेविरूद्ध कांग्रेसकाे उजुरी
चितवन २ को उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले साेही क्षेत्रका उम्मेदवार रहेका लामिछानेविरूद्ध उजुरी हालेकाे हाे।
चितवन, वैशाख १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।
चितवन २ को उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले साेही क्षेत्रका उम्मेदवार रहेका लामिछानेविरूद्ध उजुरी हालेकाे हाे।
कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन्।
मतदान जारी रहेका बेलामा लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्नेगराउने कार्य गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ।
किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण गराइएको छ ।
उजुरीमा चितवनका प्रजिअको ठाडो आदेशमा एक पक्षीय रुपमा मतदाता र मतदान प्रतिनिधिमाथि प्रहरीले लाठी चार्ज गरेको र मतदातालाई भयभीत पारिएको भनी कारबाहीको मागसमेत गरिएको छ।











