तेस्रोपल्ट विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री
शर्माले विश्वासको मतका लागि आइतबार बिहान कर्णाली प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्। वैशाख १५ गते विश्वासको मत लिने तयारी छ।
काठमाडौं, वैशाख १० : कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्मा तेस्रो पटक विश्वासको मत लिने तयारीमा छन्।
शर्माले विश्वासको मतका लागि आइतबार बिहान कर्णाली प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्। वैशाख १५ गते विश्वासको मत लिने तयारी छ।
मुख्यमन्त्री शर्माले २०७९ माघ ६ गते पहिलोपल्ट विश्वासको मत लिएका थिए । फागुन १२ गते नयाँ गठबन्धन बनेपछि असन्तुष्ट रहेको राप्रपाले संघ र केही प्रदेश सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिएपछि शर्माले चैत १७ गते दोस्रोपल्ट विश्वासको मत लिएका थिए।
पहिलो र दोस्रो पटक विश्वासको मत दिएको एमाले गत चैत २६ गते सरकारबाट बाहिरिएपछि तेस्रो पटक विश्वासको मत लिन लागिएको हो।
कर्णाली प्रदेश सभामा कांग्रेसको १४, माओवादी केन्द्रको १३, एमालेको १०, राप्रपाको १, एकीकृत समाजवादीको १ सिट छ। एक स्वतन्त्र सांसद छन्। स्वतन्त्र सांसद देवराज शाहीले यसअघि दुवै पटक मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएका थिए।











