Kathmandu Press

चटके मानिसका कारण मुलुक गम्भीर ढंगले प्रतिगमनतिर : डा. भट्टराई  

चटके मानिसका कारण मुलुक गम्भीर ढंगले प्रतिगमनतिर : डा. भट्टराई  

काठमाडौं, वैशाख ९ : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश प्रतिगमनतिर गइरहेको बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै डा. भट्टराईले यस्तो भनाई राखेका हुन्। भट्टराईले ठुलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भएको पनि बताए। ‘दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको छ।

वैचारिक ढंगले अग्रगामी सोचका विरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको छ, जुन पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत होइन।’ अर्को एक प्रसंगमा विचारधारा र सिद्धान्त नभएका मान्छेहरु राजनीतिमा आइरहेको पनि बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रातारात जादु गर्ने जसरी अभिव्यक्ति दिइरहेको बताउँदै भने, ‘चटके मानिसहरुको बारेमा समाजले बेलैमा बुझ्न जरुरी छ। नयाँ पार्टीहरुले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेका छन्। यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन्। यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ।’ 

भट्टराईले माक्र्सले बनाएका विचारहरुको धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्नुपर्ने आबस्यकता पनि औंल्याए।  
  
 

प्रकाशित मिति: १८:२६ बजे, शनिबार, वैशाख ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्