Kathmandu Press

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किंदै थिइन्।
तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

दार्चुला, वैशाख ९ : दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दल सिंह भण्डारीको शव भेटिएको छ। आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो। 

महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किंदै थिइन्।

उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भूभाग धारचुला हुँदै घर फर्किदै गरेको व्यास गाउँपालिका २ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए। नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन्। 

'जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएकी जानकारीमा आएको छ’, बुढाथोकीले भने, 'तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ।' 

सिङ्दलसिंहको शव भारतीय भूभागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेकी छिन्। उनकी श्रीमतीको भने चार वर्ष अघि निधन भएको बताइएको छ।

प्रकाशित मिति: १७:५७ बजे, शनिबार, वैशाख ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्