‘मेराे भारत भ्रमण राष्ट्रको समग्र हितमा केन्द्रित’
शनिबार ललितपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक केन्द्रीयसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो छिट्टै छिमेकी देशको भ्रमण हुन लागेको भन्दै राष्ट्रको समग्र हित, स्वार्थलाई व्यवस्थित रुपले राख्नका लागि आवश्यक तयारी भइरहेको बताएका हुन्।
काठमाडाैं, वैशाख ९ : प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रको समग्र हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो भारत भ्रमण हुने बताएका छन्।
शनिबार ललितपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक केन्द्रीयसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो छिट्टै छिमेकी देशको भ्रमण हुन लागेको भन्दै राष्ट्रको समग्र हित, स्वार्थलाई व्यवस्थित रुपले राख्नका लागि आवश्यक तयारी भइरहेको बताएका हुन्।
उनले विभिन्न चूनौतिकाबीच कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेकाले यसलाई अवसरको रुपमा लिने बताए। राष्ट्रिय एकतालाई अघि बढाउन र आर्थिक समस्या समाधानका साथै इतिहासको चक्कालाई पछि ढकेल्न खोज्ने चुनौती देखिएको उनले बताए।
प्रधानमन्त्री प्रचण्डले मुलुकको निर्वाचन प्रणाली र संवैधानिक व्यवस्थाका कारण कुनै एक पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेका कारण गठबन्धन बनेको र गठबन्धनलाई पाँचै बर्ष अघि बढाएर देश र जनतामा सेवा प्रवाह गरिने धारणा राखे।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले कम्युनिष्ट आन्दोलन अझै पनि जनतामा लोकप्रिय रहेको भन्दै कम्युनिष्ट एकतामा भएको त्रूटीलाई आत्मसमीक्षा गर्दै पुनः एकतामा जानुको विकल्प नरहेको बताए। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न पार्टी केन्द्रित भएको र छिट्टै नतिजामा पुग्ने उनको भनाइ थियाे।