बालेनले निजी विद्यालयलाई भने- छात्रवृत्ति उपलब्ध गराउनुस्
'विद्यालयले कुल विद्यार्र्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाइ जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ।'
काठमाडौं, वैशाख ९ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्य रुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेका छन्।
कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई उनले आग्रह गरेका हुन्।
नयाँ शैक्षिक सत्र सुरु भई भर्ना अभियान चलिरहेको उल्लेख गर्दै प्रमुख साहले कामपा क्षेत्र भित्र रहेका निजी विद्यालयलाई निमयसङ्गत छात्रवृत्ति प्रदान गर्न ध्यानाकर्षण गराएका छन्। कामपाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ।
'सो नियमअनुसार निजी तथा संस्थागत विद्यालयले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः शत प्रतिशत र ५० प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ,' उनी भन्छन्, 'विद्यालयले कुल विद्यार्र्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाइ जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ।'
यसरी उपलब्ध गराइएको छात्रवृत्तिसम्बन्धी विवरण विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरेर अभिभावक र विद्यार्थीलाई सूचित गराउन सम्बन्धित सबै विद्यालयलाई प्रमुख साहले आग्रह गर्नुभएको छ। नियमको पालना गर्ने विद्यालयको दायित्व हो। अभिभावक र सरोकारवालाले नियम पालना भए÷नभएको निगरानी गर्नुपर्छ। प्रमुख साहले व्यवस्था कार्यान्वयनका लागि आग्रह गर्दै, अन्यथा अवस्था देखिए कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने बताए।
कामपाभित्र ८९ सामुदायिक विद्यालय छन्। त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन्। ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गरिरहेको तथ्यांक छ। त्यसैगरी ५ सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन्।
केही दिनअघि कामपाले एक सूचना जारी गर्दै शिक्षा नियमावली २०७९ को ९ संशोधनको नियम १४६ ९२० बमोजिम सामुदायिक विद्यालयको प्राथमिक र निम्नमाध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसँग शुल्क लिन नपाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।
अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग भने लिन सकिने सूचनामा उल्लेख छ।











