विराटनगरमा झडप भएपछि प्रहरीले हान्यो अश्रुग्यास

माेरङ, वैशाख ९ : कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूको शवयात्राका क्रममा आज (शनिबार) पहिचानवादी पक्ष र प्रहरीबीच विराटनगर झडप भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको हो। झडपले सो क्षेत्र तनावग्रस्त बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।
प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ गते भएको आन्दोलनका क्रममा घाइते भएका लिम्बुको चैत १० मा मृत्यु भएको थियो। उनको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ। त्यसक्रममा विराटनगरमा शवयात्रा गरिएको हो। पहिचानका लागि भएको आन्दोलनमा मृत्यु भएको भन्दै लिम्बूलाई सरकारले सहिद घोषणा गरिसकेको छ ।
झन्डै एक महिना देखी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार आज अन्त्येष्टि गर्न लागिएको हो। स्थायी घर मोरङको उर्लाबारीस्थित लालभित्तीमा पुर्याएर लिम्बूको अन्त्येष्टि गरिँदैछ।











