मुलुक संघीयतामा गए पनि सिंहदरबारको सोच हटेन : प्रधानमन्त्री

काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुक संघीयतामा गइसकेपछि पनि सिंहदरबारको सोचबाट मुक्त हुन नसकेको बताएका छन्।
शनिबार काठमाडौंको गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आम जनतालाई आर्थिक र राजनीतिक क्रियकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको भए पनि अहिले पनि सिंहदरबारको सोचबाट मुक्त हुन नसकेको बताएका हुन्।
अहिले पनि संघीयता र परिवर्तनको आत्मसातीकरण गर्न नसकेकाले अझै मेहनत गर्न आवश्यक रहेको उनले बताए। उनले नेपालको संविधान धेरै प्रगतिशील भएको र यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको संकल्प गरेको जिकिर गरे।
प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको सक्रियताबिना अर्थतन्त्रमा सुुधार ल्याउन नसकिने भएकाले राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति बदल्नुपर्ने धारणा राखे।
त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशी दातृ निकायहरुसंग आवश्यकता भन्दा बाहिरको ठाँउमा सहयोग लिइरहेको भन्दै प्राथमिकता निर्धारण गरेर सहयोग लिनुपर्ने बताए। उनले अर्थतन्त्रमा असहज स्थिति रहेको र सोचेअनुसार राजश्व संकलन नभएको अवस्थामा व्यापक खर्च कटौती गर्नुपर्ने देखिएको धारणा राख्नुभयो। अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद्र ढकालले मुलुकमा निजी क्षेत्रको लगानी बढाउनका लागि सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए। अर्थतन्त्रलाई सुधारका लागि कर्जा प्रवाह बढाउनुपर्ने, व्याजदरलाई नियन्त्रण गर्नुपर्ने उहाले बताए। उनले लगानीकर्ता, उद्यमी एवं व्यवसायीमाथि निरन्तर भइरहेको प्रहारलाई रोक्नुपर्ने पनि धारणा राखे।
ढकालले दक्ष जनशक्ति न्यून रहेको र त्यही पनि विदेश पलायन हुने गरेकाले सरकार र नीजि क्षेत्र मिलेर अघि बढ्नुपर्ने अघि बढ्नुपर्ने जिकिर गरे।











