गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदै
६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार टिकाइराख्नका लागि मुख्यमन्त्री अधिकारीले ३१ सांसदको समर्थन जुटाउनुपर्छ । तर उनले विश्वासको मत नपाउने निश्चित छ ।
काठमाडौं, वैशाख ९ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। त्यसका लागि दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ।
केन्द्रको समिकरण बदलिएसँगै माओवादीका मन्त्रीहरूले चैत १० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका हुन्।
६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार टिकाइराख्नका लागि मुख्यमन्त्री अधिकारीले ३१ सांसदको समर्थन जुटाउनुपर्छ । तर उनले विश्वासको मत नपाउने निश्चित छ । किनभने उनको साथमा एमालेका २२ र राप्रपाका दुई सांसद मात्र छन्।
गण्डकीमा कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका एक सांसद छन्।
एमाले, माओवादी र राप्रपाको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारी १०५ औं दिनपछि सत्ता छोड्नुपर्ने अवस्थामा आइपुगेका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा अब गठबन्धनको नेतृत्वमा सरकार बन्नेछ।











