वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न प्रधानमन्त्री दाहालको अपिल
प्रधानमन्त्री दाहालले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।
काठमाडौं, वैशख ९ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन्।
समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्तिलाई आग्रह गरे।
वर्ग संघर्ष र विचारधारात्मक संघर्षको लामो शृंखला एवं विभाजन र एकताका अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको स्मरण गर्दै अध्यक्ष दाहालले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक संघर्षकै परिणामस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे।
प्रधानमन्त्री दाहालले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।
देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको जनाउँदै नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउन सरकार कटिबद्ध रहेको उनको भनाई थियो।











