शैक्षिक सुधारका लागि स्थानीय तह र शिक्षक सङ्गठनबीच सहकार्य

काडमाडाैं, वैशाख ९ : तीन शिक्षक सङ्गठन नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र संस्थागत विद्यालय शिक्षक युनियनले शैक्षिक रूपान्तरण र दिगो विकास लक्ष्य नं ४ प्राप्तिका लागि स्थानीय तहसँग सहकार्य बढाउने भएका छन्।
अन्तर्राष्ट्रिय शैक्षिक संस्था एजुकेशन इन्टरनेशनलमा आबद्ध ती तीन सङ्गठनले सन् २०२२ देखि नेपालमा ट्रेड युनियन र शैक्षिक अधिकारका लागि युनियनको अभियान (युनाइट) कार्यक्रम आरम्भ गरेका छन्।
कार्यक्रमअन्तर्गत तीन वटा स्थानीय सरकारसँग सम्झौता सहजीकरण गर्ने सहमति गरेको छ। सो क्रममा चितवनको इच्छाकामना गाउँपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मकवानपुरगढीका प्रमुखले शैक्षिक समस्या समाधान गर्न युनियनसँग सामाजिक संवाद समिति गठन र वर्षमा दुई पटक बैठक गर्ने सहमति गरेका छन्।
सोअन्तर्गत स्थानीय सरकारले विभिन्न शैक्षिक समस्यालाई सम्बोधन गर्न दीर्घकालीन योजना बनाउनेछन्।
गाउँपालिका महासङ्घसँग पनि संवाद र सहकार्यको प्रयास गरिने संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले जानकारी दिए।
यस्तै प्रत्येक बालबालिकाको शिक्षाको अधिकार, विद्यालयलाई प्रविधिमैत्री बनाउने, प्रसूति बिदाको समयमा वैकल्पिक शिक्षक उपलब्ध गराउने, निजी लगानीमा सञ्चालित विद्यालयका शिक्षकको पारिश्रमिक सामुदायिक विद्यालयका शिक्षकसरह पु¥याउने र सामाजिक सुरक्षा कोषमा दर्ता गराउने, आपत्कालीन अवस्थाको तयारीलगायतका विषयमा तत्कालै सहमति भएको छ।
अभियानले ट्रेड युनियन अधिकार, लैङ्गिक समानता, कमजोर समूहहरूको गैरभेदभाव, वातावरणीय सङ्क्रमण र जलवायु लचिलोपन, सभ्य कामको प्रकृति हुनुपर्ने कुरालाई सम्बोधन गर्दै र सामाजिक सुरक्षालाई सम्बोधन गर्न ठोस सुधार सिर्जना गर्न प्रतिबद्धता जनाएको छ।
प्रतिबद्धता र मागमा युनियनका अध्यक्ष थापा, सङ्गठनका अध्यक्ष अध्यक्ष विष्णुप्रसाद भण्डारी, सङ्घका अध्यक्ष सोमनाथ गिरीले संयुक्त हस्ताक्षर गरेका छन्।











