Kathmandu Press

उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री

'यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सँगसम्बन्धित ऐन पेस भइसकेको छ त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ।'
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री

सुर्खेत, वैशाख ८ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताएका छन्।

आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले भने, 'यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सँगसम्बन्धित ऐन पेस भइसकेको छ त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ।'

उनले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राखिने बताउनुभयो।  “अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारो छ त्यसका बाबजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छाैं,' खड्काले भने। यसका लागि कर्णालीबाट सङ्घमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुले प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ। 

साथै, हाल रत्नराजमार्गको सडकको डिपिआर तयार भइ अगाडि बढाउने काम भएको र वीरेन्द्रनगर तेलपानी भुरीगाउँ सडकलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ। कर्णाली र सुदूरपश्चिमलाई सङ्घीय बजेटबाट धेरै पछाडि पार्ने चलन भएको भन्दै अब यी प्रदेशमा बजेटको प्राथमितामा पारिने बताए।

'सम्माननीय प्रधानमन्त्री र म चुनावी अभियानको क्रममा कर्णाली आउँदा हामीले चुनाव जित्यौँ भने त्यसपछि बन्ने सरकारले बजेटमा प्राथमिकता पार्छाैं भनेका थियाैं,' मन्त्री खड्काले भन्नुभयो,  'यो कुरामा हामी प्रतिबद्ध छौँ। विगतमा यो प्रदेश पछाडि परेको अवस्था हो त्यसलाई चिर्दै अगाडि बढ्दैछौँ।'

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्