Kathmandu Press

मालपोत र नापीका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत रविशंकर पाण्डेय, सर्भेक्षक रामनारायण यादव तथा मालपोत कार्यालय, चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले तथा नायव सुब्बा उत्तम कुँवरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
मालपोत र नापीका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, वैशाख ८ : नक्सामा नभएको क्षेत्रफल कानुनविपरीत कित्ताकाट गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चाबहिल, काठमाडौँका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादाश महर्जनसहित पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत रविशंकर पाण्डेय, सर्भेक्षक रामनारायण यादव तथा मालपोत कार्यालय, चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले तथा नायव सुब्बा उत्तम कुँवरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप हदैसम्मको जरिवाना र जेल सजायको माग छ। 

अख्तियारको छानबिनबाट काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका, साविक गोठाटार र साविक मुलपानी गाविस वडा नं १ख, का कित्ताहरु काठमाडौं विकास प्राधिकरणको सहमतिबिना स्मार्ट सिटी अन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको निश्कर्ष निकालिएको छ।

साविक मुलपानी १ ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्चाई कित्ताकाट एवं प्रमाणित गरेको छानविनबाट फेला परेको छ। यस्तै मालपोत कार्यालय, चावहिलमा लिखतहरु पठाएकोमा मालपोत अधिकृत काफ्ले र नासु कुँवरले गलत लिखतलाई प्रमाणित गरी गलत जग्गाधनी दर्ता श्रेष्ता नामको लिखतसमेत तयार गरेको अनुसन्धानबाट खुलेको छ।

‘कित्ताकाट गर्दा अनाधिकृत रुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने भ्रष्टाचारजन्य कसुर पुष्टि हुन आयो,’ अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

कित्ताकाट गर्ने क्रममा झापाको, कमल गाउँपालिका–२ का योगेन्द्र आचार्य, काठमाडौंको, कागेश्वरी मनोहरा नगरपालिका–९ का सिताराम अधिकारी र काठमाडौं महानगरपालिका–९ का नविन दाहालले आफूहरुलाई लाभ प्राप्त गर्ने उद्देश्यले नापी र मालपोतका कर्माचारीहरुलाई सहयोग पुर्‍याएको भन्दै मूख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन अभियोगपत्रमा मागदावी लिइएको छ।

प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्