‘सकम्बरी’को विवादबारे प्रकाश सपुतले भने- चोट पुगेकाहरूप्रति क्षमा चाहन्छु

काठमाडाैं, वैशाख ८ : प्रकाश सपुतको पछिल्लो सांगीतिक सिर्जना ‘सकम्बरी’ गीतले एकातिर चर्चा कमाएको छ भने अर्कातिर विवाद जन्माएको छ। उनले दर्शकश्रोताको साथ र समर्थनलाई धन्यवाद व्यक्त गर्दै आलोचनालाई पनि आत्मसात गरेका छन्।
सोही गीतलाई लिएर भइरहेको विवादमा गायक सपुतले माफी मागेका छन्। सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर उनले आफ्नो सिर्जनाबाट चोट पुगेकाहरूसँग क्षमा मागेका हुन्।
‘मेरो सिर्जनाले प्रत्यक्ष र अप्रत्यक्ष जोजसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘मलाई कसैलाई होच्याएर, आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर आफु सफल हुनु छँदै छैन। समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुदै होइन। म पनि यही समाज र परिवेशको उत्पादन हुँ।’ हाल अमेरिकामा रहेका सपुतले रात्रिकालीन मनोरञ्जन व्यवसायी संघ काठमाडौंलाई सम्बोधन गर्दै लेखेको पत्रमा त्यसरी क्षमा मागिएको हो।
उनले सार्वजनिक गरिएको सात दिनमा करोड पटक हेरिएको पनि बताएका छन्। ‘धेरैले गित सुनेर, हेरेर, टिकटक बनाएर मनोरञ्जन लिनुभएको छ। केहीले यसको विषयवस्तुलाई गम्भीर रुपमा मनन गर्नुभएको छ र हामीलाई धन्यवाद दिनुभएको छ। अलिकतिले चाहि यसका केही कमजोरीहरु औंल्याउनुभएको छ,,’ उनले लेखेका छन्, ‘यति धेरै माया, प्रसंसा र खबरदारी गरेर एउटा सिर्जनामा तपाईहरुको सहभागिता साँच्चिकै म्याजिकल छ।अमुल्य छ। सबैखाले प्रतिक्रियालाई मनन गरेको छु।’ माया र प्रशंसाले हौसला मिलेको र खबरदारीले सचेत गराएको उल्लेख गर्दै उनले आधिकारिक संस्थाले प्रेस विज्ञप्ति निकालेकाले सम्बोधन गर्नुपर्ने लागेको उनको भनाइ छ।
यस्ताे छ पत्र
श्री अध्यक्ष ज्यू
रात्रिकालीन मनोरञ्जन व्यवसायी संघ, काठमाडौं।
पछिल्लो गीत ‘सकम्बरी’ले उठाउन खोजेको महिला यौन हिंसा को विषय गम्भीर र साझा विषय हो। यो सबै क्षेत्रमा छ। अझ भनौं विश्वव्यापी छ। यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ, प्रवृत्ति विशेष छ। त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वाभाविक हो। र कुनै अर्को क्षेत्रमा छदैछैन भन्नु पनि अपत्यारिलो हो। तर पात्र र पात्रको पृष्ठभुमी तयार गर्दा रात्रीकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ।
यो एउटा शैली हो। कथा निर्माण प्रक्रिया हो। यसलाई कुनै आधिकारिक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला। यसलाई कथा वा कला सामग्री को रुपमा बुझिदिनुहोला। यदि रात्राकालीन मनोरन्जन व्यवसायी (दोहोरी साँझ) हुँदैनथ्यो भने म एउटा कलाकारका रुपमा स्थापित हुँदैन थिए। म सधैं ऋणी छु। आभारी छु। र, साथै इमानदारीका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुँदैनथ्यो भने ‘सकम्बरी’को कथा पनि मसँग हुदैनथ्यो। गीत र भिडियोलाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरु आएपछि म सुरुमा अलिकति झस्किएँ। तर अहिले म ख़ुसी छु।
तपाईंहरु रात्रीकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनुभएको रहेछ। पाँच वर्ष साँझमा काम गर्दैगर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु। थुप्रै नैतिक प्रश्नहरुको सामना गरेको छु। तर त्यहीबाट मजस्तै थुप्रैले आफ्नो जीवनको लय भेट्टायौ र अगाडि बढ्यौ। त्यसैले समग्रमा क्षेत्र राम्रो र नराम्रो भन्दा पनि हामीभित्र पनि राम्रा र नराम्रा पक्ष र प्रवृति छन्, त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन भंयकर पक्षपात छ। ठुलो समस्या छ। यसरी समस्या सबैतिर छ।’
त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने, रोज़गार सिर्जना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसा रहित, विभेद रहित समाजको निर्माण गर्ने नै तपाई हाम्रो प्रयास हो । यसमा अझै धेरै भुमिका राज्यको हुन्छ । हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो । हामी जस्तो समाजमा बस्छौ त्यस्तै चेतना बन्छ । त्यस्तै दृष्टिकोण बन्छ । सिर्जना त्यस्तै बन्छन। त्यसैले यो देशकै समस्या हो ।
खैर, मेरो सिर्जनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महशुस भएको छ सबैसँग क्षमा चाहन्छु। मलाई कसैलाई होच्याएर, आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर आफु सफल हुनु छँदै छैन। समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुदै होइन। म पनि यही समाज र परिवेशको उत्पादन हुँ।
मेरो चेतना पनि यही निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिनँ, छ तर सकीनसकी र जानीनजानी गर्न खोजेको चाहि समाजका अध्यारा कथाहरु देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो। रात्रिकालीन मनोरञ्जन व्यवसाय मात्रै होईन देशका सबै क्षेत्रलाई, सबै अंगलाई मर्यादित बनाउन, सफल र समृद्ध बनाउन तपाईंहामी सबैको भुमिका उत्तिकै महत्वपूर्ण छ।
बाँकी म फर्किएपछि दोहोरी साझमा बसेर समीक्षा गरौला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउला म कुनै मिठो भाका छान्दै गर्नुहोला। धन्यवाद!
प्रकाश सपुत
अमेरिकाबाट












