Kathmandu Press

सिसिटिभी जडान गर्न काठमाडौं महानगरले नेपाल प्रहरीलाई ६ करोड दिने

सिसिटिभी जडान गर्न काठमाडौं महानगरले नेपाल प्रहरीलाई ६ करोड दिने

काठमाडौं, वैशाख ७ : काठमाडौं महानगरपालिकाले महानगरभित्र सिसिटिभी जडान र सञ्चालन गर्न नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ ।

सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने भएको मेयर बालेन शाहले जानकारी दिए । 

बिहीबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता गरिएको रकमको ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ १५ दिनभित्रै दिने र बाँकी रकम कार्य सम्पादन भएपछि दिने उनले बताए ।

सम्झौतामा उल्लेख गरिएको कामहरू गृह मन्त्रालयबाट जारी भएको सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि अनुसार कार्यान्वयन हुने महानगरले जनाएको छ ।

सिसिटिभी रिङ नेटवर्क टोपोलोजी, भिडिओ व्यवस्थापन प्रणाली, मर्मत सम्भार तथा निगरानीका लागि छुट्टै सवारीसम्बन्धी योजना तयार पारिने महानगरले बताएको छ। यसका लागि ६ जना पदाधिकारीको समिति रहने छ ।

उक्त समितिमा महानगरतर्फबाट सूचना प्रविधि विभागका प्रमुख, नगर प्रहरी बलका प्रमुख, सूचना प्रविधि शाखा प्रमुख रहनेछन् । यस्तै नेपाल प्रहरीकातर्फबाट एक जना प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रतिनिधि, एक जना प्रमुख काठमाडौं उपत्यका प्रहरी कार्यालय सञ्चार शाखा र एक जना प्रहरी कार्यालयमा कार्यरत प्राविधिक अधिकृत रहने छन् । 

सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार यसअघि २०७५ फागुन १५ गते सम्झौता गरेर महानगरले प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

‘त्यस सम्झौताबमोजिम जडान गरिएका १६५ वटा सिसिटिभी क्यामेरामध्ये अहिले १५८ वटा चालु अवस्थामा छन्,’ उनले भने, ‘राखिएकामध्ये सडक विस्तारका क्रममा ७ वटा प्रयोगविहीन छन् ।’

उपत्यका प्रहरी कार्यालय रानीपोखरीकाअनुसार उपत्यकामा भएका ३ हजार २३१ सिसिटिभी क्यामेरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रूमबाट निगरानी हुन्छ । 

प्रकाशित मिति: १९:३१ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्